सिंहदरबारबाट हराएका दस्तावेज तत्काल खोज्नुपर्छ – पूर्व गृहसचिव नेपाल

सिंहदरबारबाट हराएका दस्तावेज तत्काल खोज्नुपर्छ – पूर्व गृहसचिव नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल भारत सीमा विवाद सुल्झाउन भारत नेपालसँग वार्तामा बस्न तयार देखिएको छ । यद्यपि आफू अनुकूल हुने गरी सीमा समस्या समाधान गर्न सकिने पर्याप्त प्रमाण नेपालसँग छैन भनिन्छ । कतिपय मुख्य प्रमाण नै गायब पारिएका छन् र भएका पनि मुलुकमा नभएको विज्ञहरू बताउँछन् । मुलुकका महत्वपूर्ण दस्तावेज संरक्षण नगरिनु र हराउनु कर्मचारीहरूको गैरजिम्मेवारी हो भन्छन् पूर्व गृह तथा शिक्षा सचिव जनार्दन नेपाल । नेपाल भारत सीमा समस्या समाधान कसरी गर्न सकिएला भन्ने विषयमा नेपालसँग केन्द्रबिन्दुकर्मी जितेन्द्र रसिकले राखेका ५ जिज्ञासा ।

प्रश्न १
नेपाल भारत सीमा समस्या सुल्झाउने महत्वपूर्ण दस्तावेज हराए भनिन्छ । सिंहदरबारभित्रै रहेका दस्तावेज कसरी हराउँछन् ?

मलाई सिंहदरबारबाट दस्तावेज हराएको छ जस्तो लाग्दैन । अहिलेसम्म सरकार नबोलेकाले दस्तावेज हराएको नभई कतै सुरक्षित रहेको पनि हुनसक्छ । सरकारले सुगौली सन्धियताका दस्तावेजहरू सरकारसँग छैन भने यो यो छैन र छ भने के के छ भनी सार्वजनिक गर्नुपर्दछ । नभएका के के हुन् त्यसको खोज तथा अनुसन्धान गर्नुु आवश्यक छ । त्यसपछि मात्र हराएकै हो भने कुन कु्न दस्तावेज हराएको छ भन्ने यकिन हुन आउँछ ।

प्रश्न २
सुगौली सन्धिलाई आधार मानेर योगी नरहरिनाथ, फणिन्द्र नेपाल र एक अधिवक्ताले सर्वोच्चमा ग्रेटर नेपाल फर्काउन मुद्दा हालेका थिए । त्यतिबेला सर्वोच्चले सुगौली सन्धिको असली दस्तावेज पेस गर्न नोटिस जारी गर्दा सरकारले पेस गर्न सकेन । नहराएको भए त पेस गथ्र्याे होला नि ?

दस्तावेज हराएको छ भने २०३१ सालमा सिंहदरबारमा आगलागी हुँदा हराएको हुन सक्छ । चोरी भएको वा बेचिएको पाइए सरकारले छानविन गरेर अनुसन्धानको दायरामा तान्नुपर्छ र तत्काल दस्तावेज खोज्नतर्फ लाग्नुपर्छ ।

प्रश्न ३
सरकारले अदालतमा प्रमाण पेस नगरेपछि त्यसलाई कुन रूपमा बुझ्ने ? अनि सिंहदरबारको साँचो त कर्मचारीसँगै हुन्छ, होइन ?

सिंहदरबारबाट दस्तावेजहरू हराएकै हुन् भने त्यसको मुख्य जिम्मेवारी कर्मचारीकै हुन्छ । कर्मचारी नै मुलुकको स्थायी सरकार भएकाले सिंहदरबारको साँचो पनि कर्मचारीसँगै हुन्छ । त्यसैले दस्तावेज हराएको छ भने त्यसको जिम्मेवार कर्मचारी नै हुन् । तर दस्तावेज हराएको वा नहराएको विषयमा जवाफ दिने काम सरकारको हो । खोज अनुसन्धान गर्ने काम पनि सरकारकै हो । यस विषयमा अहिलेसम्म सरकारी तवरबाट देखिने गरी खोज अनुसन्धान भएको पाइन्न ।

प्रश्न ४
सीमा समस्या सुल्झाउन सक्ने अधिकांश दस्तावेज ब्रिटिस लाइव्रेरीमा भेटिन्छन् भनिन्छ, कुनै भारतमै पुगिसकेको आशंका गरिन्छ । यस्तो अवस्थामा भारतसँग सीमा वार्ता गर्दा प्रमाण कसरी जुटाउन सकिएला ?

अहिलेको सीमा समस्या समाधान गर्ने दुईवटा विकल्प छन्– एउटा कूटनीतिक पहलबाटै भारतसँग वार्ता गर्ने । दोस्रो– सबै प्रमाण जुटाएर अन्तर्राष्ट्रिय अदालत जाने । ती दस्तावेजहरू बाह्य मुलुकका अभिलेखालयहरूमा पुगेका छन् भने पनि कूटनीतिक पहल गरी दुई देशको सरकारबीच पत्र आदान प्रदान गरी असली दस्तावेजको छायाकपी ल्याउन सरकार लागि पर्नु पर्छ ।

कतिपय इतिहासकारहरूले सीमा समस्या सुल्झाउन सक्ने प्रमाण आफूसँग पनि छ भनी सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् तर सरकारले त्यति चासो नदिएको उनीहरूको आरोप छ । यसबाट केही असली दस्तावेज त मुलुकभित्रै पनि छन् भन्नसक्ने आधार भेटियो । अब ती दस्तावेजको खोजी गर्ने काम त सरकारकै हो नि ।

प्रश्न ५
सीमा समस्या समाधान गर्ने विषयमा सरकार पक्ष र प्रतिपक्षबीच पनि फरक मत छ । यस्तो अवस्थामा कसरी अघि बढ्न सकिन्छ ?

यो विषयमा मुलुकभरका नेपालीको एउटै मत हुनु पर्दछ । तर यस विषयमा सरकारको एउटा अभिव्यक्ति, प्रतिपक्षमा बस्ने दलको अर्को अभिव्यक्ति हुनु मुलुककै लागि घातक हो । सीमा मुद्दालाई राजनीतिकरण गरिनुहुन्न । यो राष्ट्रिय मुद्दा हो । यस्तो अवस्थामा अघि बढ्ने एउटै उपाय हो – सरकार, प्रतिपक्ष र जनता सबै एकमत हुने, प्रमाण जुटाउन लागि पर्ने । यसको संयोजन गर्ने काम भने सरकारकै हो ।

Logo