काठमाडौं ।
छिमेकी भारतले नेपालमा पठाउने राजदूत अझै तय गर्न सकेको छैन। विगतमा विशेष परिस्थितिबाहेक ४/६ महिना पहिले राजदूतको विषयमा निर्णय गर्दै आएको थियो। यसपटक त्यस्तो विशेष परिस्थिति छैन ।
विदेश मन्त्रालयमा नेपाल आउन चाहनेको सूची बढेकै कारण भारत सरकारले निर्णय लिन नसकेको दिल्लीस्थित कूटनीतिक स्रोतले दाबी गरेको छ। भारतीय कूटनीतिज्ञले नेपालको पोस्टिङलाई निकै महत्व र सम्मानको रूपमा लिने गर्छन्। राजनीतिज्ञले पनि नेपालमा विदेश मन्त्रालयका अनुभवी तथा वरिष्ठमध्येकै पठाउनुपर्ने ठान्दै आएका छन्।
विशेष मन्त्रालयको वरिष्ठ सहसचिवदेखि अतिरिक्त सचिवसम्मले यो पदमा आउन निकै जोडबल गरेको र पूर्वपरराष्ट्र सचिव नै विदेशमन्त्री रहेका कारण निर्णयमा ढिलाइ भएको हो।
‘प्रधानमन्त्री, विदेशमन्त्री र सुरक्षा सल्लाहकारका फरक फरक चाहना हुँदा पनि ढिलो भएको हुन सक्छ’, दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘अब छिट्टै तय होला । युरोपमा काम गरिरहेका राजदूत नै नेपालमा आउलान् जस्तो छ।’ फ्रान्समा राजदूत रहेकालाई नेपाल पठाउने विषयमा छलफल भइरहेको भेउ नेपाली कूटनीतिज्ञले पाएका छन्।
‘यसपटक दिल्लीलाई निर्णय लिन धेरै समस्या परेको छ’, नेपाली कूटनीतिज्ञले सुनाए, ‘अन्यथा उनीहरू नेपालमा आउने व्यक्ति चयन गरिरहेका हुन्थे । एक जनाको नाम राजदूत फर्कनु अघि नै सिफारिस गरेका हुन्थे । अहिले कहिले कसको त कहिले कसको नाम आइरहेको छ। तर, वास्तविक नाम अझै सिफारिस भएको छैन ।’
नेपाली मिडियामा पनि भावी भारतीय राजदूत भन्दै विभिन्न नाम आएका छन्। अखिलेश मिश्रा, गोपाल बाग्ले र जावेद अर्सद तीमध्ये केही नाम हुन्। ती सबै सहसचिव हुन् । उनीहरू भन्दा वरिष्ठले पनि यसमा दाबी गरेका थिए।
विदेश सचिवको दौडमा पछि परेका सचिव टीएस त्रिमूर्ति र अर्का सचिव विकास स्वरूपको पनि नाम चर्चामा छ। तर, अहिले फ्रान्सका राजदूत विनय मोहन क्वात्राको नाम बढी चर्चामा छ। सन् १९८८ मा उनी कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा फ्रान्समा राजदूत छन् । उनी यस अघि सार्क सचिवालयमा सन् २००६ देखि २०१० सम्मा निर्देशकको रूपमा नेपालमा थिए । स्वरुप सन् १९८६ र त्रिमूर्ति १९८५ मा कूटनीतिक सेवा प्रवेश गरेका थिए । ब्रसेल्समा राजदूत रहेकै बेला पुरी नेपालको जिम्मेवारी लिएर आएका थिए।
अन्नपूर्णबाट





























प्रतिक्रिया