जोखिमपूर्ण नारी शरीर

जोखिमपूर्ण नारी शरीर

केन्द्रबिन्दु
0
Shares

  • सुशीला भुसाल –

बाल्यकालदेखि परिवारले सम्झाइरहन्थ्यो, ‘छोरी मान्छेको इज्जत सियोको टुप्पोमा हुन्छ ।’ इज्जत मतलब चरित्र । इज्जत जोगाएर मात्रै जित्ने समाजमा हुर्काइएँ म । नारीत्वको गरिमालाई उँचो बनाउन चरित्रलाई समाजको चाहनाअनुसार राख्नुपर्थ्याे ।

समाजभित्र नौजवान पुरुषहरू पनि छन् जो नारी शरीरलाई अपरिहार्य आवश्यकता सम्झन्छन् भनेर समाजले कहिल्यै सोचेन । नारीको चरित्र बिगार्न पुरुषको पनि भूमिका हुन्छ भन्ने तथ्यलाई घर र समुदायले बुझ्नै सकेन वा चाहेन । जुन घरका छोराहरू पुरुषार्थ देखाउन, पराक्रम गर्न र इतिहास रच्न जन्माइन्थे त्यही घरमा छोरीचेलीहरू कुलको इज्जत धान्न, सेवासुसार गर्न र घरमाइतीको मान बढाउन हुर्काइन्थे ।

यही सिकाइ र संस्कारभित्र हुर्काइएकी म नारी सम्मान भन्नु नै इज्जत हो भन्ने बुझाइमा बाँचिरहेकी थिएँ । मैले परपुरुषलाई अछुत जातिकै रूपमा हेर्थें । जब पेशागत जीवनमा प्रवेश गरेँ त्यहाँको वातावरण अर्कै थियो । म चाहेर पनि त्यो वातावरणबाहिर निस्कन सकिन । म पुरुष सहकर्मीहरूसँग बढी हेलमेल गर्न थालेँ । खाजा खाँदा, चिया खाँदा, फिल्ड जाँदा सबैतिर मेरा सहयात्री तिनै पुरुष साथीहरू थिए । यीमध्ये एकजना मेरा अलि अन्तरंग नै बनेका थिए । मैले सबै समस्याहरू उनी समक्ष राख्थेँ । उनी पनि मेरो समस्याको सक्दो समाधान सहितका सुझावहरू दिन्थे । क्रमशः हाम्रो टेलिफोन संवाद बढ्दै गयो । अनायासै हामी साथीभन्दा माथि भइसकेका रहेछौँ । यो हामी दुवैलाई थाहा थिएन । यो विना योजना स्वाभाविक हिसाबले भएछ, आज मलाई घरपरिवारले अलि शंकालु नजरले हेर्न थालेको छ । यी भनाइ हुन् सरकारी कार्यालयमा उच्च तहमा कार्यरत एक महिला कर्मचारीको ।

इज्जत उठाउन हिँडेकी नारी हुँ हजुर पुरुषसामु झुक्दिन भन्ने अर्की महिला झनै चारित्रिक लान्छनाको निशानीमा परेको गुनासोलाई आक्रामक स्वरमा सुनाउँदै थिइन्– ‘उसले भनेको नमान्दा मैले ठूलो चोट सहेकी छु । तिमीभन्दा म कुन कुरामा कम छु र भनेर प्रतिस्पर्धी बन्छु भन्दा लोग्नेमान्छे बन्न खोजेको भनेर आरोप लगाएका छन् । के आइमाई बन्न मैले उनीहरूले खोजेकै स्वभाव अवलम्वन गर्नु पर्ने हो ? के म निहुरिएर हिँड्दा, सानो र मधुर स्वरमा बोल्दा, उनीहरूले खोजेकै हाउभाउमा प्रस्तुत हुँदा मात्र पूर्ण नारी बन्ने हो ? नाजुक, कोमल, मुलायम शरीर र हाउभाउका नखरा देखाएपछि मात्रै पूर्ण महिला हुने हो ?’ यी प्रश्न अर्की महिलाका हुन् ।

‘ममाथि गर्ने विश्लेषण र टीकाटिप्पणीहरू उनीहरूकै योग्यता र बुझाइको सीमाभित्रवाट गरिएका हुन् । मलाई नचिन्ने मानिसहरूले गरेका टिप्पणी उनीहरूकै चिन्तन र सोचका उपज हुन् । म कसैका लागि आफूूलाई परिवर्तन गर्दिन । म आफू जे हुँ त्यही रहन चाहन्छु । जसले जे र जस्तो खोज्छ त्यसै अनुरूप आफूलाई परिमार्जित गर्दै जाँदा मेरो आफ्नो निजत्व मर्दैन र ? म आफ्नै आन्तरिक र बाह्य पहिचान चाहन्छु । मेरो छनौटको अधिकारलाई कसैको चाहनामा किन परिवर्तन गर्ने ?’ यी आँटिली महिला आफ्नै लोग्नेको चाहना अनुकूल पहिरन लगाउनुपर्ने दवावलाई चुनौती दिँदै यसो भन्छिन् ।

‘जब चरित्रको प्रश्न उठ्छ इज्जतमाथि सवाल महिलामाथि मात्रै किन उठ्छ ? पुरुषले बलात्कारै गर्दा पनि इज्जतचाहिँ नारीको जाने रे ? यौन र प्रेमका सवालमा पुरुषहरूलाई किन यत्रो स्वतन्त्रता दिइराखेको छ समाजले ? एउटै घटनामा अर्को लैंगिक समुदायप्रति यति धेरै अनुदार किन भएको ? पुरुषको अपचलन र व्यभिचारमाथि प्रश्न उठाउन मिल्दैन ? यो छुट कसले दिएको ? उनीहरूले जे गरे पनि पानी माथिका ओभाना हुने ?’ अर्की महिला जो सामाजिक अभियन्ता छिन्, उनको भनाइ हो यो ।

अर्की महिला भन्छिन्– म आफ्नो शरीरलाई आफ्नै निजी होस् भन्ने चाहन्छु । म आफूलाई कुनै पुरुषसामु प्रस्तुत गर्न चाहन्न ? मैले मेरो तत्कालीन श्रीमानलाई कहिल्यै खुसी राख्न सकिन । न शरीरले न मनले । त्यसैले मैले सम्बन्ध विच्छेद गरेँ । दिनको संकेत बिहानीले नै गर्छ । बिहे भएकै दुई वर्षमा उसले मलाई जसरी बुझ्न थाल्यो, त्यसले त मेरो आत्मसम्मान नै सखाप भयो नि । अब म पुरुषहरूप्रति झुकाव राख्छु होलाजस्तो लाग्दैन । तर सम्बन्ध विच्छेद गरेकी जवान युवति हुँ नि, मेरो शरीरबाहेक अरू देख्दैनन् मेरा केही सहकर्मीहरू । मलाई यो नारी पुरुषबीचको शारीरिक सम्बन्धले कुनै खुसी दिन्छ जस्तो लाग्दैन । म यो विषयलाई तुच्छ ठान्छु तर मेरो सेरोफेरोमा यसलाई प्रधान विषय बनाइएको छ । म आफ्नो करिअर र आत्मसम्मानलाई प्रधान सम्झन्छु । पुरुषसँगको आशक्तिको लेस भाग पनि छैन मेरो मगजमा । तर मलाई भोग्या बनाउन लागेका छन् कतिपय मानिसहरू ।’

यी फरक–फरक क्षेत्रका प्रतिनिधि पात्रहरूको भनाइलाई आधार मान्दा कामकाजी महिलाहरू मर्यादा र प्रतिष्ठाको लागि उठ्न खोज्दै गर्दा फेरि अमर्यादित हुन पुगेको देखियो । अरूकै चाहनाका लागि सम्झौता गरेर बाँच्न नसकेको अवस्थामा विद्रोह र विग्रहका लागि तयार रहनुपर्ने पनि देखियो । सबैको हकमा लागू नहोला तर केही महिलाहरू भने यसबाट प्रताडित भइरहेका छन् । कतिले सक्षम र यथास्थितिलाई चुनौती दिन खोज्ने नारीलाई यही हथौडाले हानेर इज्जतको वध गर्ने कूटनीति लिएको पनि देखियो । जब प्रेम र यौनका सवालमा चर्चा हुन थाल्छ तब साना मात्रै होइन ठूला भनिनेहरूले पनि सबै महत्वपूर्ण सवालहरूलाई पन्छाएर यसमा आफूलाई प्रवेश गराउने गरेको देखियो । प्रेम र यौनका सवालमा प्रतिशोध र पूर्वाग्रहले युक्त पुरुषले आफ्नो विवेक गुमाएको पनि देखियो । सार्वजनिक समारोहहरूमा लक्षित नारीलाई सिध्याउने गरी अभिव्यक्ति दिने र उसका विरुद्ध आफ्नो सर्वस्व शक्तिको प्रयोग गरेको पनि देखिन्छ । निराधार, कपोलकल्पित र आग्रहपूर्ण कसैले उठाएका सवाललाई सम्बन्धित महिलाको विषयमा बुझ्दै नबुझी प्रहार गर्ने कस्तो विकृत सोच ? के यो पुरुषहरूको यौन कुण्ठाको परिणाम हो ?

‘प्रेम र यौनिक विषय केवल श्रीमान् श्रीमतीबीचको मुद्दा हो । गैर व्यक्तिहरूको यसमा संलग्नता किन हुन्छ ?’ यो सवाल एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत महिलाको हो । महिलाको सक्षमता पुरुष रिझाउनुमै सार्थक हुने भन्ने मान्यताको विकास केही शक्तिशाली पुरुषहरू गरिरहेछन् । कसैको निजी जीवन सार्वजनिक परिहासको विषय बन्न सक्छ ? आपसी सहमतिमा हुने विषयवस्तुलाई किन गम्भीर र जटिल बनाइदिन्छ समाजले ?

खराब चरित्रको भारी बोकाइदिएपछि महिलालाई उठ्न गारो हुन्छ । विरलै मात्र महिला वा पुरुष होलान् जसले आफूलाई प्रेमभन्दा माथि उठाएका छन् । अधिकांश औसत व्यक्तिहरू मानवीय स्वभाव र व्यवहारमाथि विजय हासिल गर्न सक्तैनन् । तथापि यस्ता व्यक्तिहरू पनि छन् जसले आफ्नो कामलाई साधना र संकल्प बनाएर उच्च स्तरको चेतसहित बाँचेका छन् । यस्ता व्यक्ति पुरुष मात्रै होइन महिला पनि छन् । तर महिला देख्ने बित्तिकै उसको आवरण लगायत अन्य वाहिरी सतही व्यवहार हेरेर निष्कर्ष निकाल्ने परिपाटी छ । कुुनै पनि मानिसका विषयमा क्षणभरमै गरिने मूल्यांकन गलत ठहरिन सक्छ । उसको आत्मसम्मानको क्षय र स्वाभिमानको क्षतिको पूर्ति गर्न सकिँदैन । त्यसैले गम्भीर र संवेदनशील विषयहरूमा हलुका र सतही टिप्पणी गर्नुहुँदैन ।

पुुरुषहरूको प्रतिष्ठालाई पनि उसले नारीप्रति राख्ने दृष्टिकोण र उसप्रति गर्ने व्यवहारले मापन गर्ने बेला आएको छ । सभ्य, संस्कारी र असल पुरुषले मात्रै नारीहरूलाई सम्मान दिन सक्छन् । अब नारीलाई आक्षेप लगाउनुअघि दशपटक सोचून् पुरुषहरूले । कसैको जीवनको वास्तविकता नबुझी हचुवा र हल्का टिप्पणी गर्ने पुरुषहरूलाई प्रश्न राख्ने हिम्मत गरून् महिलाहरूले पनि ।

Logo