सुलेमानीको शवयात्रामा ५० जनाको मृत्यु

सुलेमानीको शवयात्रामा ५० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तेहरान ।

इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर करमानमा भागाभाग हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ। उक्त घटनामा कम्तीमा १९० जना घाइते भएका छन् ।

‘दुर्भाग्यवश शवयात्राका क्रममा अत्यधिक भीड भई भागाभाग हुँदा कम्तीमा ५० नागरिकले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्’, इरानको आपतकालीन सेवा प्रमुख पिरहोसेन कुलिभन्डले भने। घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ। करमानका सडकहरूमा इरानका रिभोलुसनरी गार्डसका प्रमुख कमान्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँ शुभचिन्तक उपस्थित थिए।

करमान पुगेका इरानीहरू शहरमा नअटाएपछि नजिकका पहाडमा पुगेर भए पनि सुलेमानीप्रति अन्तिम सम्मान अर्पण गरेका थिए । इरानी जनताबीच गार्डसको क्विद बलका कमान्डर रहेका सुलेमानी इराकको राजधानी बगदादस्थित विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएका थिए ।

तेहरानका साथै दक्षिण–पश्चिमी शहर अवाज, कुम र मशहादमा सुलेमानको मृत्युपछि शवयात्रा निकालिएको थियो भने मंगलबार अपराह्न केरमानमा इस्लाम धर्मअनुसार उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको थियो । शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अन्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको छ।
रासस

Skip This
Skip This
Logo