चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक हजार ८९ मेगावाट मात्रै पुगेको थियो । जाडोका कारण देशव्यापीरुपमा नै विद्युत् माग बढेर एक हजार ३५२ मेगावाट पुगेको छ । लक्ष्मीपूजाको दिन सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको थियो । जाडो बढ्दा माग ११९ मेगावाटले वृद्धि भएको छ ।

एक्कासि विद्युत् माग बढ्दा सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिएको छ । यस्तै प्रसारण तथा वितरण प्रणालीमा पनि ‘ओभर लोड’ देखिएको छ । जाडोका कारण हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलेका कारण पनि विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणले औसतमा विद्युत् माग ३५० मेगावाटको हाराहारीमा हुने अनुमान गरेको थियो तर अनुमान गरेभन्दा झण्डै १०० मेगावाट बढी माग प्रणालीमा देखिएको छ ।

जाडो बढेको खण्डमा अझै विद्युत् माग बढ्न जाने सम्भावना रहेको छ । प्राधिकरणले विद्युत् माग बढ्नुलाई सकारात्मक रुपमा नै लिएको छ । यद्यपि झयाप्प–झयाप्प लाइन काटिदा मर्का पर्ने गरेको उपभोक्ताको गुनासो छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् माग बढेसँगै देखिएका समस्या समाधानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिएका छन् । “सवस्टेशन र ग्रीडमा देखिएको समस्या त करिब–करिब समाधान भइसकेको छ । केही वितरण तथा प्रसारण प्रणालीमा देखिएको उल्झनको समाधानका लागि निरन्तर अनुगमन जारी छ”, प्रवक्ता अधिकारीले भने ।

यस्तै राजधानीमा भइरहेको सडक विस्तारका कारण पनि केही स्थानमा अनिवार्य रुपमा लाइन काटिएको छ । प्रवक्ता अधिकारीका अनुसार चक्रपथमा रुख बिरुवा हटाउने कार्यका लागि पनि दिनभरजसो नै लाइन काट्नु परेको छ । यस्तै समस्या देखिएको स्थानमा नयाँ ट्रान्सफर्मर थप्न तथा ग्रीडको मर्मत तथा सुधारका लागिसमेत एकाध स्थानमा लाइन काटिएको हुनसक्ने उनको भनाइ छ । “हामीले नियमित रुपमा विश्वसनीय र समान भोल्टेजको विद्युत् उपलब्ध गराउनका लागि प्रयास गरिरहेका छौँ । जाडोको समयमा औसतरुपमा नै बढी विद्युत् माग हुन जान्छ । हरेक घर, कोठामा समेत हिटर र एसी चलेका छन् । त्यसका कारण पनि माग बढी भएको हो, हामी सकेसम्म विद्युत् नकाटिने गरी नै समस्या समाधानमा लागिपरेका छौँ”, प्रवक्ता अधिकारीले भने ।

प्राधिकरणले ओभरलोड भएका फिडरमा त्यस्तो लोड घटाउन बढी क्षमता भएका ट्रान्सफर्मर जडानलाई समेत निरन्तरता दिएको छ । यस्तै वितरण प्रणालीमा देखिने समस्या समाधानका लागि २४ सैँ घण्टा परिचालित हुने गरी प्राविधिकसहितको जनशक्ति परिचालन गरिएको छ ।

प्राधिकरणले माग जति बढे पनि पुग्दो विद्युत् उपलब्ध गराउन कुनै समस्या नरहेको उल्लेख गर्दै आएको छ । माग बढे पनि पुरानो प्रणालीका कारण ती स्थानमा ओभरलोडको समस्या भने देखिएको प्राधिकरणले स्वीकार गरेको छ । प्रवक्ता अधिकारीले भने, “विद्युत् नपुगेर कहीँकतै पनि लाइन काटिएको होइन, पुरानो प्रणाली मर्मत तथा सुधार गर्दा केही समय काट्नु परेको हो । यस्तो समस्या क्रमशः समाधान भएर जान्छ नै ।”

समस्या आएको छ, तर समाधानका लागि पनि काम भइरहेको र प्रणाली सुधार गर्दा, फिडर परिवर्तन गर्दा केही स्थानमा अनिवार्य रुपमा नै लाइन काट्नुपर्ने प्राधिकरणको भनाइ छ । यस्तै केही स्थानमा थप ट्रान्सफर्मर राख्ने स्थानको अभावमा पनि लोड व्यवस्थापनमा जटिलता देखिएको छ ।
रासस

Logo