काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरूको भेला काठमाडौंमा शुरू भएको छ । पार्टी नेतृत्वलाई पुस ११ गतेको निर्णय सच्याउन दवाब दिने उद्देश्यले संस्थापनइतर समूहले जिल्ला सभापतिहरूको भेला बोलाएको हो । सभापतिको भेलामा सहभागी हुन आएका खोटाङ जिल्लाका सभापति नरेश कुमार श्रेष्ठसँग पाँचवटा प्रश्नमा केन्द्रित भइ केन्द्रबिन्दु अनलाईनका राजनीतिक ब्युरो प्रमुख प्रकाश लुईटेलले कुराकानी गरेका छन् । प्रस्तुत छ, केन्द्रबिन्दुको पाँच प्रश्नमा कांग्रेसका खोटाङ जिल्ला सभापति श्रेष्ठको जवाफः
प्रश्न १
जिल्ला सभापतिहरूको भेला के का लागि ?
पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा विधान विपरित निर्णय गराउनु भएको छ । आफू फेरि कसरी सभापति बन्ने भन्ने अभिप्रायका साथ निर्णयहरू गरिएको छ । त्यसलाई सच्याउनका लागि दवाब दिन हामी यहाँ आएका हौं ।
प्रश्न २
भेलामा किन सबै जिल्लाका पार्टी सभापति सहभागी भएनन् त ?
वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लाका सभापतिहरूलाई बोलाउनु भएको थियो । तर पार्टी सभापतिले आफू निकट सभापतिहरूलाई नआउन उर्दी जारी गर्नु भएछ । सबैको कुरा सुनेर सबैलाई समेटेर लैजानु पर्ने पार्टी सभापति आफैं गुट सिर्जना गर्न लाग्नु भएको छ । त्यसैले सबै जिल्लाका सभापतिको सहभागिता हुन सकेन ।
प्रश्न ३
यो भेलापछि सभापतिले निर्णय सच्याउनुहुन्छ त ?
निर्णय सच्चिनुपर्छ । यो भेलाको निष्कर्ष पार्टी सभापतिलाई निर्णय सच्याउनका लागि सोच्न बाध्य गर्नेछ । मलाई विश्वास छ, सभापतिले निर्णय सच्याउनुहुन्छ, र सबैलाई समेटेर अघि बढ्नु हुनेछ ।
प्रश्न ४
निर्णय सच्चिएन भने के हुन्छ ?
दुर्घटना हुन्छ । त्यसैले निर्णय सच्याउनका लागि हामी जस्तो सुकै कदम चाल्न पनि तयार छौं ।
प्रश्न ५
जस्तोसुकै कदम भनेको के हो ? पार्टी विभाजनसम्म पनि जाने हो ?
होइन, पार्टी कुनै पनि हालतमा फुट्दैन । हामी पार्टी फुटाउँदैनौं । धर्ना, आन्दोलनलगायत अन्य सम्पूर्ण उपाय अपनाउँछौं ।





























प्रतिक्रिया