राष्ट्रसेवक कर्मचारीपत्नीको जिज्ञासा

राष्ट्रसेवक कर्मचारीपत्नीको जिज्ञासा

केन्द्रबिन्दु
0
Shares

  • सुस्मिता सुवेदी पौडेल –

मान्छेले दिनु पर्ने परिचय आफ्नै हो । तर विवाहपछि महिला आफू सिंगो रहन्न । अर्को घरका सँग मनसँगै थर पनि जोडिने रहेछ । जसरी मेरो नामसँग दुईवटा थर जोडियो ।

तर पनि परिचय त अझै आफ्नै हो । कसैले परिचय सोधे गृहिणी र शिक्षा सोधे स्नातकोत्तर भन्न मलाई गार्‍हो थिएन । कसैले किन केही काम नगर्नुभएको भनेर सोधिहाले भने कारण देखाउन दुई सन्तान छँदै थिए । यही कारण कर्मचारीकी पत्नी हुँ भन्ने आवश्यकता पर्दैन भन्ने लाग्दथ्यो ।

तर जसै तपाईं गृहिणी भनेर आफूलाई चिनाउनु हुन्छ, थप प्रश्न सोधिहाल्छन्, श्रीमान् के गर्नुहुन्छ ? अब गार्‍हो हुन्छ । मेरो निजी जीवनमा श्रीमानकाे पेसा आइपुग्छ । यही मेरा लागि सबैभन्दा गार्‍हो कुरा हो ।

शुक्रवारको दिन थियो । विहान चिया खानेबित्तिकै श्रीमान् चाँडै अफिसमा काम छ भनेर निस्कनुभयो । केटाकेटीहरूलाई उठाई पढ्न बसाएर म भान्छाको काममा लागें । खाना पकाउँदै गर्दा ग्याँस सकियो । भुुइँचालोताका त्राहीमाम अवस्थामा किनेको इन्डक्सन चुलो चालु अवस्थामै भएकाले ग्याँस लिन कुदिहाल्नु परेन । नत्र राष्ट्रसेवक श्रीमानलाई घरसेवक बनाउनु पर्ने बाध्यता आइलाग्दथ्यो । यता हतार नभएका बेला अफिस निस्कँदा मिलेसम्म उहाँले बच्चाहरूलाई पनि स्कूलसम्म पुर्‍याएर घरसेवालाई निरन्तरता दिइरहनु हुन्छ । तर छिटो अफिस गएको बेला भने आफैं बच्चाहरू पुर्‍याउन जानु परिहाल्थ्यो । पहिलो त्रैमासिक परीक्षा सकिएकाले पनि होला केटाकेटीहरूको गृहकार्यको उति चटारो थिएन । तर यो फुर्सदमा उनीहरूलाई एकजना आफन्तकहाँ लैजान मन लाग्यो । आफ्नो काम पनि हुने र बच्चाहरूले थोरै भए पनि साँघुरो घेराबाट छुटकारा पाउने ।

काम सकेपछि दुई बच्चाका साथ लागेर म घरबाट निस्किएँ । सार्वजनिक गाडी चढ्नेबित्तिकै मेरो कानमा राष्ट्र सेवक कर्मचारीका विषयमा केही अपमानजनक शब्द कानमा पर्‍यो । उसै पनि कसैले त्यससम्बन्धी कुरा गर्दा कान ठाडा हुन्छन् नै, त्यसमा पनि कुनै जिल्लामा केही कारणवश कुनै राष्ट्रसेवक कर्मचारीका कारण ती यात्रुलाई असहज बनाएको रहेछ । कुरा सही नै थियो होला तर जसरी ती यात्रुहरूले समग्र राष्ट्रसेवक कर्मचारीमाथि औंला उठाए, नरमाइलो लागिहाल्यो ।

अर्को स्टपमा गाडी रोकियो । एक हुल विद्यार्थी ओर्लिएपछि बसका केही सिट खाली भए । नानी र बाबु सँगै दुईटा सिटमा बसे । म भने एउटा खाली भएको महिला सिटमा बसेँ । छेउमा बस्ने महिलासँग हाँसो मिलाएर मैले छिमेकी भएको संकेत दिएँ । उनले पनि मुस्कुराउँदै कुरा सुरु गरिन् । सायद केटाकेटीका कारण उनलाई पनि आफ्ना सन्तानको सम्झना भयो होला ।

‘तपाईं के गर्नुहुन्छ ? उनले सोधिन् ।

‘म त गृहिणी ।‘

‘अनि श्रीमान् नि ?‘

अब मलाई गार्‍हो भयो । के भन्ने ? भर्खर उनी वरपरका व्यक्तिले राष्ट्रसेवक कर्मचारीको कुरा गर्दा हो मा हो मिलाइरहेकी थिइन् । हुन त मेरा श्रीमान् राष्ट्रसेवक कर्मचारी नै हुनुहुन्छ र अघि चर्चा चलेको विषयसँग कार्यक्षेत्र पनि फरक छ । मलाई यो पनि थाहा छ, त्यो घटनामा पनि कर्मचारीको गल्ती नहुन सक्छ । तर सबैको आँखा म र मेरा छोराछोरीप्रति पर्ने भयले मैले मुस्कुराएर टारिदिएँ ।

गाडी एक ठाउँ रोकिँदा अघिल्लो गाडीको धुवाँ बसभित्र पस्यो । सबैले नाक थुने र काठमाडौंको फोहोरका विषयमा कुरा गर्न थाले । त्यसपछि सबैको तारो सरकार, काठमाडौं नगरपालिका र त्यहाँका कर्मचारीहरूमा पर्‍यो । बसका यात्रुहरू पुनः एकसाथ नेताहरूमाथि जाइलागे । सायद त्यहाँ कोही राजनीति गर्ने मानिसकी श्रीमती पनि हुँदी हुन् । सोचेँ, उनी पनि त्यो बेला चुप लागेर मेरो जस्तै अवस्था भोग्दी हुन् ।

फर्कंदा साँझ परिसकेको थियो । हामी फर्कदा पनि मेरा श्रीमान् फर्कनुभएको थिएन । अन्य दिनभन्दा शुक्रवार उहाँको अफिस छिटो छुट्टी हुने हो, तर वहाँ साविकभन्दा पनि ढिलो अफिसबाट फर्कनुभयो । झोलामा अफिसका कागजपत्र बोकेर आउनु भएको रहेछ । मैले गुनासो गर्दा उहाँले भन्नुभयो, “अफिसमा काम गर्दा गर्दै भ्याइएन बूूढी, यो काम हाकिम साबले जरुरी र चाँडो गर्नुपर्ने भन्नु भएकाले घरमै लिएर आएँ ।’’

बेलुकाको खानापछि बच्चाहरूले गृहकार्य पूरा गरे । त्यसपछि ओछ्यानमा पल्टिएर उनीहरूलाई बालकथाहरू सुनाएँ, कथा सुन्दासुन्दै उनीहरू निदाए । बूूढा भने अफिसबाट बोकेर ल्याएको काम गर्दै हुनुहुन्थ्यो । अलिकति काम बाँकी छ भन्दै हुनुहुन्थ्यो, मेरै करले उहाँले भोलिपल्ट बिहानीपख बाँकी काम गर्ने भनेर कागजपत्र बन्द गर्नुभयो । निदाउनुअघि केहीबेर बूढाबूढीले घरायसी गन्थन मन्थन ग¥यौं । छिमेकीहरूले आफ्ना बच्चाहरूलाई अलि राम्रो स्कूल हाल्ने बारेमा कुराकानी हुने गरेको सुनाएँ ।

‘अलि राम्रो भनिने स्कूलको शुल्क कति रैछ‘ उहाँले सोध्नुभयो ।

‘भर्ना शुल्क २५ हजार र मासिक शुल्क १२ हजारसम्म लाग्ने रै’छ भन्ने सुनेको थिएँ’ मैले जवाफ दिएँ ।

यसो ढल्केको मान्छे झसंङ्ग हुँदै उठ्नु भयो, ‘मेरो तलब कति छ भन्ने थाहा छ तिमीलाई ?‘

यो आर्थिक वर्ष देखि बढेको तलबको बारेमा पनि मलाई लगभग थाहा थियो नै । यो आर्थिक वर्षको शुरुवातसँगै १८ देखि २० प्रतिशत तलब बढेको थियो । त्यस मानेमा हामी सबै कर्मचारी परिवार खुसी छौं । तर पनि बढेको महँगीले पुराना कामलाई निरन्तरता दिने बाहेक नयाँ काम गर्न सकिने रहेनछ ।

खासमा मलाई पनि नानीबाबुको विद्यालय परिवर्तन गर्ने रहर होइन । तर कहीँ बाटोतिर भेटिने चिनजानका व्यक्तिहरूले बाबुनानी कुन स्कूल पढ्छन् भन्ने सोधेरै हाम्रो स्तर जाँचिरहेका हुन्छन् भन्ने कुरा केही सयमयता बोध गर्न थालेकी थिएँ ।

हिजोआज केटाकेटीहरूको स्कूलको स्तर पनि उनीहरूका बाबु–आमाको जागिरमा निर्भर हुने दिन आएछन् । विद्यार्थीले आर्जन गर्ने ज्ञानभन्दा पनि उनीहरूले पढेको विद्यालयको नामले बढी महत्व पाउन थालेको रहेछ ।

‘अरूको देखासिकीमा फुरफुर परेर हुँदैन ।’ उहाँले यति मात्र भन्नुभयो र कोल्टे फर्कनुभयो । पछि आफैँलाई बोध भयो, उहाँजस्तो मानिसलाई मैले आफ्नो बाटोमा हिँड्न दिनुपर्छ । म आफै सुरुसुरुमा कुनै गलत काम नगर्नू, रुखासुखा जे हुन्छ सँगै बेहोरौंला भनेर हौसला दिन्थेँ । उहाँको यो भनाइले म वरपरको वातावरणबाट प्रभावित बन्न थालिछु भनेर दुःख लाग्यो ।

हुन पनि म पढेलेखेकी युवती हुँ भन्ने बुझेर उहाँले मेरा हरेक कुरालाई महत्व दिनुहुन्थ्यो । मैले पनि उहाँलाई वास्तविकता र यथार्थमा रहेर काम गर्ने कर्मचारीको रूपमा पाएको छु । हरेक क्षेत्रमा असल आचरणमा रहन उहाँलाई सुझाव दिन पाउनु र उहाँले पनि त्यसलाई त्यही रूपमा निर्वाह गरिरहेको देख्नु गौरवको कुरा थियो । यही कारण पनि कसैले राष्ट्रसेवक कर्मचारीका विषयमा नकारात्मक टिप्पणी गर्दा दुःख लाग्दथ्यो ।

आज आफैले आफ्नो घेरो नाघेर छोराछोरीलाई महँगो विद्यालयमा पठाउने योजना बुन्नु त्यति सुहाउने कुरा थिएन । घाँटी हेरी हाड निल्नु भनेजस्तो आ–आफ्नो गच्छेअनुसारको खर्चमा चल्नुपर्छ भन्ने उहाँको कुरा नै सही थियो । तर तत्काल उहाँको एकान्त मैले बिथोल्न चाहिन ।

केही वर्षअघिको कुरा हो, म चितवन घरमै केटाकेटीसँग बस्थेँ । उहाँ मात्र यता शहरमा बस्नुहुन्थ्यो । केटाकेटी सहरमा ल्याउन पाए राम्रो पढ्थे कि भन्ने कुरा चल्यो । बूूढाबूूढीको सँगै बस्ने चाहना पनि थपियो सायद । केही वर्षअघि म पनि बच्चाहरू लिएर काठमाडौं आएँ । बेडरुम र किचन गरी दुईवटा कोठाको एघार हजार रुपैयाँ त घरबेटीलाई नै बुझाउनु पर्ने थियो । बाँकी सम्पूर्ण खर्च उन्नाईस हजारले पुुर्‍याउनै पर्ने बाध्यता हामी सामु थियो । कतिपय अवस्थामा सुत्ने ठाउँको अभावमा उहाँ क्वाटरमै बस्नुहुन्थ्यो ।

तर बेला बेला उहाँ आइपुग्नुहुन्थ्यो । छोराछोरी सुतेका बेला मात्र बूूढाबूूढीको गफ गर्ने अवस्था थियो । त्यस्तो बेला पनि उहाँचाहिँ अफिसकै कुरा गर्न रुचाउनु हुन्थ्यो । त्यो चकमन्न रात थियो तर गाउँघरतिर जस्तो शहरमा झ्याउँकिरी कराएको आवाज सुनिँदैनथ्यो । ‘तपाइँ जहिले पनि अफिसको कुरा गर्नुहुन्छ, घरको लागि पनि समय दिनु न कहिलेकाहीँ त’ मैले जिस्काएँ । जे जति खटिएको छु सबै तिमीहरूको लागि त हो नि भन्ने उहाँको तर्क थियो । यत्तिकैमा नानीले खोकी, बिउँझिएकी रहिछ । ‘अब केटाकेटीलाई कोठा पुग्ने गरी फ्ल्याट लिएर उनीहरू छुट्टै सुत्ने बानी पनि पार्नु पर्ने हुन्छ कि’ मैले भनें ।

‘फ्ल्याटको कति लिन्छन् नि’ उहाँको सोधाइ मलिन थियो ।

‘फ्ल्याटको बिस हजार जति भन्छन् होला’ मैले जवाफ दिएँ ।

सायद राम्रो कोठामा बस्न नपाएको पीडा हुँदो हो । उहाँले आँट गरेर थप एउटा कोठा भएको फ्लाट लिनुभयो । तर यही कारण कुनै पनि महिनामा पैसा बच्नसक्ने अवस्था सिर्जना हुन सकेन । जुन महिना तलब आउँथ्यो त्यसै महिनामा सकिइसकेको हुुन्थ्यो । हामीले कुनै महिनामा पनि घरमा मम्मीबाबा (सासूूससुरा) लाई खर्च पठाउन सकेका थिएनौँ । समयसमयमा फोनमा मम्मीबाबासँग कुराकानी भने भइरहन्थ्यो । धन्न उहाँहरूको हट्टाकट्टा शरीर र केही पैतृक सम्पत्ति पनि भएकाले घर र माइतीको चिन्ता गर्नुपर्ने आवश्यकता हामीलाई थिएन ।

सोचेँ, अहिलेसम्म उहाँले प्रयास गरि नै रहनुभएको छ । जागीर खाने भएपछि मुठाका मुठा पैसा ल्याउन सकिँदैन, ल्याउन थाले भने बुझ्नुपर्छ हामीलाई दशा लाग्यो । यति त म बुझ्न सक्छु । मैले बच्चालाई नयाँ विद्यालय राख्ने विचार त्यागेँ ।

बिउँझिदा शनिबारको विहान भइसकेको थियो । खाना खाएपछि चिडियाखाना हेर्न जाने भनेर केटाकेटी फुर्किएर बसेका थिए । बिहानी चियापछि उहाँ आफ्नै काममा लाग्नुभयो । उहाँको पनि छुट्टी भएकाले काम सकेर सबैजना तयार भयौं । ट्याक्सीलाई बोलाइसकेकी थिएँ । त्यहीबेलै उहाँको मोबाइल बज्यो । हाकिम साबको फोन रहेछ ।

‘एकपटक अफिस पुग्नुपर्ने भयो तुरुन्तै फर्किहाल्छु । त्यसपछि सँगै जाऔंला ।’ यति भनेर नजिकै आइसकेको ट्याक्सीलाई पनि फर्काइदिनुभयो । बच्चाहरूले खल्लो महसुस गरे । छोरी त रिसाइ पनि ।

हामीसँग उहाँलाई कुर्नु बाहेक अर्को उपाय थिएन । एकघण्टा जति पछि फोन आयो, तिमीहरू जाँदै गर्नु मलाई अझै टाईम लाग्ला जस्तो छ । म उतै पुग्छु ।’

बाबा आएपछि सँगै जाने भनेर केटाकेटी निकै बेरसम्म मानेनन् । बल्लबल्ल सम्झाएर लिएर गएँ । पसलतिर देखिएका खेल्ने कुराहरू किन्ने रहर केटाकेटीमा हुनु स्वाभाविकै थियो । एक–एकवटा खेलौना किनिदिएँ । हामी घुमिसकेकेर तीन बजेतिर कोठामा पुग्दा वहाँ बल्ल उहाँ घर आइपुग्नुभयो । बीचमा उहाँले मलाई फोन गर्नुभएको थियो तर मैले उठाएकी थिइन । सायद त्यो बेला उहाँको काम सकिएको थियो होला । त्यही बेला हाम्रो फर्कने बेला भएको थियो । घरमा एकछिन रिसाए जस्तो गरे पनि यो उहाँको बाध्यता हो भन्ने मैले बुझेकी थिएँ, हामीसँग हिड्न–डुल्न त उहाँलाई पनि पक्कै मन थियो । तर पाउनु भएन ।

चिया खाएपछि उहाँले बच्चा र हामीलाई फकाउनु भयो । ‘थाहा छ, आज हाकिम साबको बच्चाको बर्थ–डे रहेछ । ५ बजेपछि हामी सबै कर्मचारीलाई फेमिली सहित बोलाउनुभएको छ, बच्चाहरू कोठामै खेलेर बस्छन्, तिमी समयमै तयार हुनुपर्छ है !’

उहाँको प्रस्तावमा सहमति जनाएँ । घरबाट निस्किएर सिधै गिफ्ट पसल गयौं । दक्षिणा दिंदा यति नै दिनुपर्ने भन्ने कतै लेखिएको छैन क्यार भनेर खाममा दुईरदुई सय मात्र राखी दुईवटा खाम तयार गर्‍यौँ । ठिकै मूल्यको र बच्चालाई मन पर्ने किसिमका खेलौना किनेर बर्थ–डे पार्टीमा पुगियो । पार्टी सकिनेबित्तिकै छिटो छिटो खाना खाएर निस्कियौं । नानीलाई तरकारी बाहेक दालभात पकाउन आउँथ्यो । दालभात पकाइसकेकी रहिछन् । उनीहरूलाई खाना खान दिएर भान्छाको काम सकाएँ । हामीले उतै खाइसकेका थियौं ।

केटाकेटीहरू समयमै सुते । म भने फुर्सदमा सामाजिक संजाल हेर्दै थिएँ । त्यहाँ सरकारी सम्पत्तिको दुरुपयोग भन्ने एउटा भिडियो भाइरल भइरहेको रहेछ । त्यसमा एकजना कर्मचारीले आफ्नी श्रीमती र छोरीलाई बाइकमा राखेर कतै जाँदै रहेछन् । त्यो मोटरसाइक पक्रिएर केही व्यक्तिले उनलाई गाली गर्दै गरेको भिडियो थियो । यस्तो प्रवृत्तिमा हामी दुवैले चिन्ता गर्‍यौं । त्यही बेला उहाँले भन्नुभयो, ‘तिमीले यो कुरा बुझेकी छौ र म गलत बाटोमा हिँड्नु परेको छैन । न त यस्ता झन्झटमा फस्नु परेको छ ।’

केही मित्रहरूमा मिडियासामु अरूका कमजोरी देखाइदिएर आफू हिरो बन्ने परिपाटी पनि देखिन्छ । कर्मचारीले आफ्नो परिवारलाई लिएर हिँडेको विषयमा सरकारी सवारी साधनभित्र खोजी खोजी भिडियो खिचेर बाहिर ल्याएर चर्चा बटुल्ने पनि भेटिन्छन् । सोचेँ, अमेरिकाका राष्ट्रपतिले पनि पत्नीलाई विभिन्न ठाउँमा सँगै हिँडाएकै देखिन्छ । नेपालमा पनि मन्त्रीज्यूहरूको सरकारी क्वार्टरमा मन्त्रीज्यू मात्र एक्लै बस्ने भन्ने पक्कै होइन नै । सचिवज्यूहरू, सह–सचिवज्यूहरू चाडबाडमा घर जाँदा आफू सरकारी साधनमा गएर पत्नीहरूलाई बसको टिकट काटेर बस चढाउन पक्कै गएनन् होला । जिल्ला जिल्लामा सरकारी क्वार्टरहरू बनाइएका छन् जसमा सम्बन्धित कर्मचारीहरूको परिवार पनि बस्छन् । भलै सबै कर्मचारीलाई क्वाटर नमिलेको हुनसक्छ । परिवार त क्वाटरमा बस्छन् । उसका एकदुईदिने पाहुनाहरू के गर्लान् त, तिनलाई पनि राख्नै पर्‍यो ।

एकताका कुर्सीमा राखिने गरेको टावेलको बारेमा पनि राम्रैसँग समाचारहरू आएका थिए । कपालको तेल र पसिनाको असरबाट टावेलले कुर्सीको बचावट गरेको हुनसक्छ भन्ने कुरा भने कतै आएन । कुर्सीको कभरमा पाँच सय रुपैयाँको रुमाल राखेर पन्ध्र हजार पर्ने कुर्सी जोगिन्थ्यो भने टावेलको विषयमा त्यतिविधिको समाचार बनाउनु जरुरी थिएन कि ?

एकदिन बूूढालाई सोधें, हाम्रो त कुनै महिना पनि पैसा बच्दैन, केही परेमा कुन पैसाले काम चलाउने हो ? मेरो प्रश्नको उत्तर दिइरहनु खोई किन जरुरी देख्नुभएन उहाँले । महत्वपूर्ण मानिने केही कार्यालयहरूका कर्मचारीहरूलाई शतप्रतिशत भत्ताको समेत व्यवस्था गरिएको हुने रहेछ । तोकिएका सीमित कार्यालयका कर्मचारीहरूलाई मात्र दिइने शतप्रतिशत भत्ताको विषयमा एकताका पत्रिकामा छापिएको समाचार पढेकी थिएँ । पत्रिकाको मुख्य पेजमा बैंकको व्याजदर दुई अंकमा रहनु हुन्न भन्ने समाचार पनि आएको रहेछ, एकजना उच्च ओहदामै बसेका व्यक्तिले ड्राईभर र सहयोगीमा चारचार ठाउँमा आफ्नै नाम राखेर तलब झिकेर खाएछन् रे भनेर त्यसताका खुुबै पढिएको विषय हो । यस्ता गलत कार्यका धेरै उदाहरणहरू रोकिनुपर्छ । यस्तै गन्थने कुरा सोच्दा सोच्दै रात घर्किसकेको थियो ।

Skip This
Skip This
Logo