मौलिकको शाब्दिक अर्थ मूल भन्ने हुन्छ । मौलिकता भनेको मौलिक हुनाको भाव वा अवस्था हो । सिर्जनासँग जोड्दा मौलिकताको अर्थ कसैसँग नलिएको कसैको नक्कल नगरेकोे, कसैबाट पनि प्रभावित नभएको आफ्नै वा नवीन सिर्जना भन्ने हुन्छ । तर मौलिकता के हो भन्ने विषयमा सर्जकहरू बीच नै अन्यौल छ । वास्तवमा मौलिकता के हो भनेर ट्युसन पढाएर सिक्ने विषय पनि होइन । यो मनमष्तिष्कबाट आउने विषय हो । हरेक व्यक्तिको आफ्नो जीवनशैली नै मौलिकता हो । मौलिकता भनेको हरेक समाजको इतिहास, धर्म, संस्कृति, परम्परा रहनसहन, खानपान सबै हो ।
एक्काइसौँ शताब्दीको यो दशकमा हामी नेपाली मौलिकताको बहस गर्ने तर मौलिकतालाई कुल्चिँदै जाने संक्रमणकालीन अवस्थामा रहेका छौँ । विदेशी संकृतिले हाम्रो संस्कृतिमाथि धावा बोलिरहेको छ । यसो हुनुको पछाडि हाम्रो गरिबी पनि एउटा कारण हो । कुनै पनि देश आफैँमा सम्पन्न भए उसले मौलिकता बचाउन सक्दछ । जति देश गरिब हुन्छ उसको मौलिकतामाथि अन्य देशको धर्म, संस्कृतिको अतिक्रमण त्यति नै बढी हुन्छ ।
यति बेला हाम्रो नेपाली मौलिकतामाथि चौतर्फी अतिक्रमण छ । त्यो अतिक्रमण अन्यबाट जबर्जस्तीभन्दा पनि हामीले स्वेच्छिक रूपमा भित्र्याइरहेका छौँ । हाम्रो धर्म, संस्कृति, सामाजिक जीवनशैली, राजनीति, अर्थतन्त्र, कला, साहित्य सबैतिर अतिक्रमण बढ्दो छ । वैदेशिक सहायताका नाममा भित्रिएका यस्ता अतिक्रमणले हाम्रो पहिचानलाई नै धरापमा पार्न सक्ने सम्भावना छ । एकातिर हामी हाम्रो मौलिकतामाथि अतिक्रमण भित्र्याइरहेका छौँ, अर्कातिर मौलिकता जोगाउनुपर्ने भनी बहस पनि गरिहरका छौँ । हरेक क्षेत्रमा मौलिकताको बहस हुन्छ । मौलिकता जोगाउने कुरा हुन्छ, तर मौलिकता जोगाउने ठोस काम हुँदैन । बरु पूरै अरूको नक्कल गरेर सबैभन्दा मौलिक सिर्जना गरेँ भन्नेको नेपालमा कमी छैन ।
विभिन्न क्षेत्रमा बेलाबेलामा चलिरहने बहसहरूमध्ये नेपाली चलचित्रमा मौलिकताको बहस पनि एउटा हो । नेपाली चलचित्रमा मौलिकता छैन भन्नेहरू जति बलियो तर्क राख्छन् त्योभन्दा बलियो तर्क आफ्ना चलचित्रलाई मौलिक भन्ने निर्माता र निर्देशकहरू गर्छन् । हरेक निर्मातानिर्देशकहरू आफ्ना हरेक चलचित्रलाई फरक धारको भन्न रुचाउँछन् । अनि चलचित्र चलोस् वा नचलोस् दर्शकले मेरो चलचित्रलाई धेरै माया गरे अत्यन्त सफल भयो भन्ने सुगारटाइ गरिहाल्छन् ।
जुन चलचित्रको प्रिमियरमा नै प्रोपोगण्डा नै गर्ने उद्देश्यले चलचित्र भनेपछि फुटेको आँखाले पनि हेर्न नचाहने राजनीतिक दलका नेताहरूलाई ल्याएर प्रमुख अतिथि बनाइन्छ, नेताले चाख लिएर चलचित्र हेरेको भनी नेताको अनुहार खिचेर टिभीमा देखाइन्छ र त्यतिले नपुगेर चलचित्रको प्रचारप्रसारका लागि बिचरा ती कलाकारहरूलाई हलसम्म पुर्याइन्छ त्यस्ता चलचित्रहरू कति सफल चलचित्र होलान् ? चलचित्र प्रदर्शन गर्दा हलमा सबै सिट खाली हुन्छ तर एक दिन कलाकारलाई समेत हलसम्म पुर्याएर जबर्जस्ती दर्शक जम्मा गरी त्यो दृश्य छायांकन गरी टेलिभिजन कार्यक्रमहरूलाई सशुल्क प्रसारण गर्न लगाइन्छ र बिचरा नेपाली दर्शकको मनमष्तिष्कमा सफल चलचित्रको भ्रम फिँजाउने फोस्रो कसरत गरिन्छ । त्यो कस्तो सफल चलचित्र होला ? यस्ता बेमौसमका डम्फू बजाएकै भरमा नेपाली चलचित्र बनाएको दाबी गर्ने र अत्यन्तै सफल भएको हौवा पिट्ने निर्मातानिर्देशकहरूको अझै पनि नेपाली चलचित्र बजारमा भीड नै छ ।
कस्तो चलचित्रचाहिँ फरक धारको नेपाली चलचित्र हो र कस्तो चलचित्रचाहिँ फरक धारको होइन ? कुनचाहिँ विशुद्ध नेपाली चलचित्र हो र कुनचाहिँ मिसमास भएको नेपाली चलचित्र हो ? चलचित्रलाई सफल भन्ने मापदण्डहरू के के हुन् ? अहिलेसम्म नेपाली चलचित्रमा सफलताको कुनै मापदण्ड नै छैन । मापदण्ड बिनाको हौवा सफलताको सूचक हुन सक्तैन । अहिलेसम्म बनेका नेपाली चलचित्रहरूको मूल्याङ्कन गर्ने हो भने केही दर्जन जति चलचित्रलाई छोडेर बाँकी चलचित्र मूल्याङ्कनको तराजुमा चढ्न पनि योग्य छैनन् भन्दा अत्युक्ति हुँदैन । जो निर्देशक भए पनि वा कलाकार भए पनि अथवा जो निर्माता देखिए पनि एउटा चलचित्रबाट अर्को चलचित्र खासै पृथक् छैन । एउटै प्रकारका घटनाहरूलाई यताउता तन्काएर वा खुम्च्याएर नेपाली चलचित्र सकिन्छ । दुई तीन घण्टाको सम्पूर्ण समय उस्तै उस्तै घटनाभित्रै घुमिरहन्छ ।
विषयवस्तुको सीमित घेराभित्र बसेर विषयवस्तुलाई यताउता तन्काएकै भरमा पृथक् धारको चलचित्र बनाउँछु भनेर पृथक् चलचित्र बन्दैन । निर्माता पृथक्, कलाकार पृथक्, निर्देशक पृथक् वा प्राविधिक सामग्री पृथक् हुँदैमा पृथक् धारको चलचित्र बन्दैन । पृथक् धारको चलचित्र बनाउनलाई त सबैभन्दा पहिले त विषयवस्तु नै पृथक् धारको हुनुपर्दछ । नायिकालाई दुई चुल्ठी बाटिदिँदैमा वा फाटेको चोली र छोटो फरिया लगाइदिँदैमा त्यसले नेपाली ग्रामीण जीवनको सम्पूर्णतालाई समेट्न सक्तैन, अथवा नायकलाई बिना चप्पल, फाटेको टोपी लगाएर गाउँतिरका कान्लाकान्ला दौडाउँदैमा वा गैबर र लठ्ठक देखाउँदैमा नेपाली चलचित्र बनाएँ भन्ने ठान्नु पनि ठूलो भ्रम हुन्छ । यस्ता कुराको प्रदर्शनी गरेर नेपाली मौलिकता समातिँदैन, नेपाली मौलिकताको धज्जी मात्र उड्छ ।
प्रेम मानव जीवनको सम्पूर्णता हो, एउटा व्यक्तिको आफ्नी प्रेमी वा प्रेमिकाप्रतिको आसक्ति मात्र नभएर आफ्ना आमा, छोरा, छोरी, परिवार, छिमेकी, समाज र सम्पूर्ण विश्वका मानव जातिलाई गर्ने प्रेमले मात्र प्रेमको वास्तविकतालाई प्रस्तुत गर्दछ । यस्तो प्रेम खै नेपाली चलचित्रमा ? खै प्रेमको सम्पूर्णता ? नेपाली चलचित्रमा देखाइने गरेका अल्लारे केटा र केटीबीचको कुर्कुरे प्रेमचाहिँ जीवनको सम्पूर्णता होइन, कसैको जीवनको एउटा पाटोचाहिँ हुन सक्ला, त्यसैले अहिले नेपाली चलचित्रहरूमा देखाइने गरेको कुर्कुरे प्रेमले प्रेमको वास्तविक रूपलाई प्रस्तुत गर्न सकेको छैन । प्रेमपरक चलचित्र नै बनाउने हो भने पनि प्रेमका यस्ता बनावटी तानबाना बन्नु पर्दैन, बग्रेल्ती वास्तविक प्रेमकथाहरू पाउन सकिन्छ । तर वास्तविक प्रेम कथापाउनलाई छोटा लुगा लगाएर नायिकालाई पर्दामा देखाउने र नायिकाको नितम्बमा नायकले र्याल काढेर प्रेमको सुरुवात गराउने परम्पराबाट लेखक र निर्देशक मुक्त हुनु पर्दछ ।
नेपाली चलचित्रका लेखक, निर्देशक र निर्माताहरूका लागि नेपाली कथाहरू बग्रेल्ती छन् तर त्यस्ता विषयवस्तु भेट्न सबैभन्दा पहिले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक छ । काठमाडाैँका आँखाले हेरेर नेपाली कथा भेटिँदैन, मुम्बईका कथा मात्र देखिन्छ । नेपाली कथा भेट्न अछाम र डोटीका एचआइभी पीडितका गाउँगाउँमा आँखा पुर्याउनु पर्दछ, खान नपाएर भोकभोकै बस्न बाध्य कर्णालीवासीका घरदैलोमा चियाउनु पर्दछ । चेतनाको ज्योति बल्न नसकेको अन्धकारपूर्ण हुम्लाको गाउँका केटा र केटीको प्रेम कहानी खोजिनु पर्दछ । दश वर्षकै उमेरमा बलात्कृत भएर पनि अन्यायको विरुद्ध मुख खोल्न नसकेकी ग्रामीण महिलाको प्रेमको मनोविज्ञान बुझ्न सक्नु पर्दछ । तीन वर्षकै उमेरमा अपहरणमा परी हत्या गरिएको निर्दोष बालकको परिवारको विरहलाई प्रस्तुत गर्न सक्नुपर्दछ । द्वन्द्वमा सिन्दूर पुछिएका अल्लारे महिलाहरूको प्रेम इच्छाहरू प्रस्तुत गर्नुपर्दछ । गर्भमै टुहुरा भएकाहरूको संवेदनशीलतालाई समात्न सक्नुपर्दछ । के यी घटना वर्तमान नेपाली समाजका द्योतक होइनन् ? अल्लारेहरूको बनावटी र नसुहाउँदो प्रेम कहानी र बिछोडले भन्दा यी वास्तविक घटनाहरूले दर्शकको संवेदनालाई छिटो स्पर्श गर्दैन र ? अनि योभन्दा अर्को नेपालीपनको झल्को जबर्जस्ती लगाइदिएको दौरा, सुरुवाल, टोपी, फरिया र चोलोमा कसरी झल्कन्छ ? पटक्कै झल्कँदैन ।
यति भन्दै गर्दा पछिल्लो दशकमा बनेका केही चलचित्रहरूलाई यहाँ भुलियो भन्ने अन्याय हुन्छ । पछिल्लो दशकका केही चलचित्रहरू भिन्न शैलीमा देखिएका पनि छन् जसले नेपाली मौलिकतालाई जोगाएका छन् । खासगरी कथानक चलचित्रले अतिक्रमण गरेको नेपाली मौलिकतालाई केही हदसम्म भए पनि डकुमेन्ट्री चलचित्रहरूले जोगाउने प्रयास गरिरहेका छन् । त्यसैले त आज नेपाली डकुमेन्ट्रीहरूले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रतिस्पर्धा गर्न मात्र होइन, उत्कृष्ट चलचित्रको उपाधि समेत हात पार्न थालेका छन् । चलचित्र विषयक अध्ययनअध्यापन प्रारम्भ भएसँगसँगै नेपाली चलचित्रमा मौलिकताको प्रारम्भ भने भएको देख्न सकिन्छ । तर यति मात्र पर्याप्त छैन । नेपाली चलचित्रमा मौलिकताको लागि आन्दोलन र अभियानको नै आवश्यकता छ ।





























प्रतिक्रिया