संविधान राज्यको अति महत्वपूर्ण कानूनी दस्तावेज हो । यो राज्यको मूल कानून हो । संविधानसँग देशको अस्तित्व गाँसिएको हुन्छ । यसकै आधारमा राज्यका सम्पूर्ण संयन्त्र परिचालित र नियन्त्रित हुन्छन् । सामान्यतः मुलुकको संविधानले मानिसलाई नागरिकको दर्जा दिएको हुन्छ । राज्यका सबै ओहदा, तह र तप्काका मानिसहरूको अधिकार र दायित्वको निर्धारण संविधानले गरेको हुन्छ ।
सबैका आ–आफ्ना सीमा हुन्छन् । आफ्नो सीमा कसैले पनि तोड्नु र मोड्नु हुँदैन । कार्यपालिका, न्यायपालिका र संसद जुनसुकैको पनि काम, कर्तव्य र अधिकार क्षेत्र हुन्छ । यो पालना नगरेमा ऊ सजायको भागिदार हुन्छ । सजायको प्रकृति पनि अपराधको प्रकृतिअनुसार संविधानमा नै व्याख्या गरिएको हुन्छ । तसर्थ संविधानको बर्खिलापमा जानु र कार्य गर्नु दण्डनीय हुन्छ । यो अन्तर्राष्ट्रिय मान्यता र अभ्यास हो ।
संविधानले राज्यका निर्देशक सिद्धान्तहरू के हुने भन्ने बारे प्रस्ट किटान गरेको हुन्छ । त्यसकारण यो राज्यको मुटु नै हो । यो विना राज्य मृत हुन्छ । यही संविधानको उल्लंघन गरेको र संविधानलाई हातमा लिई कार्य सम्पादन गरेको आरोपमा पाकिस्तानका पूर्व सैनिक जनरल तथा पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई फाँसीको सजाय सुनाइएको छ । डिसेम्बर १७ तारिखका दिन पाकिस्तानको उच्च अदालतले यो निर्णय गरेको हो । यसले संसारको ध्यानाकर्षण गरेको छ । यो फैसलाको पछाडि केकस्ता कारण रहे ? के कस्ता षड्यन्त्र छन् ? कस्ता खालका आग्रह, पूर्वाग्रहले काम गरे ? भन्ने सवाल संसारभर उठेका छन् ।
लोकतन्त्र भर्सेज तानशाह
सन् २००८ पश्चात बेलायत र अरब इमिरेट्समा स्वनिर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफका विरुद्ध पाकिस्तानको उच्च अदालतले गरेको फैसलाका सम्बन्धमा विभिन्न व्याख्या हुँदै आएका छन् । उक्त फैसलालाई तानशाह रुचाउने र तानशाही व्यवस्थाका पक्षपातीलाई चेतावनीको रूपमा पनि हेरिएको छ । हरेक देशमा जनताको सर्वोच्चतालाई सम्मान गरिन्छ । लोकप्रिय मतका आधारमा जनताद्वारा निर्वाचित व्यक्तिद्वारा शासन गर्ने लोकतान्त्रिक परिपाटीलाई आम मानिसले स्वीकार्ने गरेको पाइन्छ । आवधिक निर्वाचन, प्रजातान्त्रिक प्रणाली र लोकतान्त्रिक व्यवस्था एक्काइसौँ शताब्दीको लोकप्रिय व्यवस्था हो । तापनि अहिलेसम्म निर्विकल्प व्यवस्था, तानाशाही र हुकुमी शैली रुचाउने जमात बाँकी नै रहेको देखिन्छ ।
सत्ता र शक्तिको आडमा पदको दुरुपयोग गरी पदमा रहँदा राज्यको स्रोत, शक्ति र सम्पत्तिलाई आफ्नो अभिष्ट इच्छा पूरा गर्न प्रयोग गर्नेहरूको हविगत मृत्यु पर्यन्त पनि यस्तो हुन्छ भन्ने देखाउनका लागि गरिएको निर्णय, फैसला भनेर पनि व्याख्या गरिएको छ । लोकतन्त्र र प्रजातन्त्र मात्र एक्काइसौँ शताब्दीको निर्विकल्प व्यवस्था हो भन्ने कुरा प्रमाणित गर्न यो फैसला महत्वपूर्ण छ भन्नेहरूको पनि कमी छैन । राजनीतिक विश्लेषकहरूले लोकतन्त्र सदावहार हुन्छ तर तानशाह निश्चित समयका लागि मात्र हुन्छ भन्ने विचार राख्दै आएका छन् । हुन त, कडा चिज चाँडै नष्ट हुन्छ र नरम चिज लामो समयसम्म अस्तित्वमा रहन्छ । दाँत छिटो झर्छ भने मानिसको जिब्रो जीवनभर रहन्छ ।
मुसर्रफप्रति भारतीय दृष्टिकोण
भारत र पाकिस्तानबीचको सम्बन्ध पाकिस्तानको गठन र निर्माणको चरणदेखि नै चिसो रह्यो । भारत स्वतन्त्रता आन्दोलन र भारत स्वतन्त्रताको गर्भमै जन्मेको पाकिस्तानप्रति भारतको दृष्टिकोण प्रायः शत्रुवत नै रह्यो । यी दुई देशबीच समयसमयमा हुने द्वन्द्वले गर्दा दुई छिमेकी देशको सम्बन्ध सुमधुर हुन सकेको छैन । परवेज मुसर्रफको सैनिक ‘कु’ भारतका लागि चुनौती बने पनि वा भारतले नरुचाए पनि पश्चिमा राष्ट्रहरू खासगरी अमेरिकी समर्थनको कारण ९ वर्ष चल्यो । उनले आफ्नो कार्यकालमा राज्यका सबै नियमहरूमा हस्तक्षेपकारी भूमिका निर्वाह गरे । करगिल युद्धमा भारतसँग भएको पराजयको परिणामस्वरूप उसको काउण्टरमा उदय भएको मुसर्रफप्रति भारत सधैं सशंकित नै रह्यो । यसको असर सार्क सम्मेलनमा समेत पर्यो । यसको मनोवैज्ञानिक असर र स्वार्थको प्रतिस्पर्धा सम्मेलनमा समेत देखियो ।
क्षेत्रीय राजनीतिमा सधै हाबी हुन चहने भारतको कुटील कूटनीति प्रभावकारी नै रहेको देखिन्छ । कारगिल युद्धकै कारण सार्कको एघारौँ सम्मेलन ३ पटकसम्म स्थगित भयो । यद्यपि अमेरिकाको बलियो समर्थनमा मुसर्रफ सत्तारोहणप्रति ऊर्जाशील बन्दै गएका थिए । यसर्थ, दक्षिण एसियामा आफूलाई स्थापित गर्न र आफ्नो राजनीतिक आयतनलाई बलियो बनाउने नेपाल, भारत र चीनसँग समेत सम्बन्धलाई विस्तार गर्ने रणनीतिमा मुसर्रफको सक्रियता भएको देखिएको थियो । तर, भारत मुसर्रफसँग सधैँ सशंकित नै रह्यो । हुनत उनकै पालामा भारतपाकिस्तानबीच वार्ताको वातावरण बन्यो । जसलाई मुसरफको साहसिक र आत्मविश्वासले भरिएको निर्णय पनि मान्न सकिन्छ ।
पाकिस्तानको राजनीतिमा सन् १९९९ देखि सन् २००८ सम्म परवेज मुसरफको युग रह्यो । तत्कालीन निर्वाचित राष्ट्रपति नवाज सरिफलाई सैन्य कु मार्फत अपदस्थ गरी मुसर्रफले सत्ता आफ्नो हातमा लिएका थिए । उनले मुख्यतः भारत र पाकिस्तानबीच भएको कारगिल युद्धमा पाकिस्तानले भोगेको पराजयको दोष नवाज सरिफमाथि लगाई सत्ता हत्याएका थिए । भलै यो मुसर्रफको उच्च राजनीतिक महत्वकांक्षा वा समयको आवश्यकता वा राष्ट्रवाद के हो त्यो फरक विश्लेषणको पाटो रहन सक्ला । यद्यपि सैन्य कु पाकिस्तानको संविधान विपरीत नै थियो ।
यता शक्तिको बलमा राजकीय सत्ता हातमा लिएर मुसर्रफले पाकिस्तानमा एक दशक प्रत्यक्ष शासन गरे । एक्काइसौँ शताब्दीको स्वतन्त्रता र प्रजातन्त्रको युगमा परवेज मुसर्रफको यो कदम तानशाहको उदयको रूपमा समेत हेरिएको थियो । तर उनले अबलम्बन गरेको उदार सैनिक तानशाही एक दशकभन्दा बढी टिकेन । अन्तर्राष्ट्रिय एवं क्षेत्रीय परिस्थिति उनको समर्थनमा बलियो नरहेका कारण उनको राजनीतिक यात्रा उकालो लाग्ने अवस्था तयार भएन । उनी आफ्नो राजनीतिक यात्राको बाटो ओरालो लाग्न थालेपछि पाकिस्तान छाडेर निर्वासित जीवन बिताउन थाले । यही कुरा मुसर्रफको जीवनमा अर्को चुनौती साबित भयो ।
त्यसो त, मुसर्रफलाई मृत्युदण्ड दिने फैसला विवादित नै भयो । यसको पक्ष र विपक्षमा व्यापक वहस नै सुरु भएको छ । पाकिस्तानको सरकार र सेनासमेत न्यायपालिकाको यो निर्णयको विपक्षमा उभिए । त्यसकारण यो परिघटनाको रोचकता र सम्भावना बारे विश्व राजनीतिको ध्यानाकर्षण भएको पाइन्छ ।
मानव अधिकार भर्सेज फाँसी
आस्था र विश्वास एकरेखीय हुँदैन । मान्छे आ–आफ्नै विश्वास र आस्थाका आधारमा स्वतन्त्र ढङ्गले सोच्ने, बोल्ने र बाँच्ने अधिकार राख्दछ । राजनीतिक विद्वान् र शासकहरूले विभिन्न कालखण्डमा विभिन्न किसिमका राजनीतिक सिद्धान्तहरू प्रतिपादन गरी शासन गरे । विभिन्न खालका नयाँ राजनीतिक अभ्यास गरी शासन गरे । ती कति गलत थिए वा सही थिए, ती समयले समीक्षा गर्ने कुरा हुन् । कतिले मानवता विरोधी हर्कत गरेर पनि आफ्नो सत्ता र पद जोगाउन प्रयास गरेका उदाहरणहरू छन् । कानूनी दृष्टिले अपराध साबित भएका कति काम कारवाहीहरू भए तापनि त्यसको सजाय स्वरूप मृत्युदण्ड दिनु वा फाँसी दिनु वा हत्या गर्नु मानव अधिकारको खिलाफमा हुने भनी विश्वव्यापी मानव अधिकार घोषणापत्रले बोल्दछ । हत्याको बदला राज्यले हत्या गर्नु हुन्न भन्ने पक्षमा मानव अधिकार रहन्छ ।
सन्दर्भ रह्यो परवेज मुसर्रफको । उनले पाकिस्तानी संविधानको ठाडो उलंघन गरी सैन्यशक्तिको बलमा रक्तपात विहीन सत्ता हत्याएका थिए । यही कारणले निर्वासित जीवन बिताइरहेका पूर्व राष्ट्रपति मुसर्रफलाई फाँसीको सजाय सुनाइयो । मानव अधिकारको दृष्टिले यो गलत हुन्छ । सजाय सुनाइए अनुसार सजायपूर्वक मृत्यु भए पनि मृत्यु पर्यन्त ३ दिनसम्म संसद भवनमा झुण्ड्याउन भनिएको छ । यसमा पूर्वाग्रहको गन्ध आउँछ । बदला र प्रतिशोधको भावनाबाट प्रेरित भएको फैसला भनी स्वयं मुसर्रफले प्रतिवाद गरेका छन् । जे भए पनि फाँसी दिनु मानव अधिकारको दृष्टिले गलत छ ।
मुसर्रफ प्रकरण र विश्व सन्देश
यो फैसलाले विश्वभरि तरंग सिर्जना गरेको छ । नेपालको संविधानमा मृत्युदण्डको प्रावधान छैन र पो यसले तत्कालका लागि सम्भावनाका छालहरू तरङ्गित भएको छैन । नेपालमा पनि राजा महेन्द्रले नेपालका निर्वाचित प्रधानमन्त्री वि.पी. कोइरालालाई अपदस्थ गरेकै हुन् । यसरी नै पूर्वराजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेका हुन् ।
ज्ञानेन्द्रले पनि २०६१ साल माघ १९ गते मध्यरातमा सम्पूर्ण संवैधानिक अधिकारहरू आफ्नाे हातमा लिई आफैंले प्रत्यक्ष शासन गरेका हुन् । नेपालमा अहिले संघीय गणतान्त्रिक व्यवस्था आइसकेको छ । नेपालको संविधानमा पनि मृत्युदण्ड र फाँसीको व्यवस्था गरिएको भए यति बेला नेपालको राजनीतिमा कस्तो खालको तरङ्ग आउने थियो होला ? प्रश्न स्वाभाविक रूपले उठ्छ ।
बंगलादेश र पाकिस्तानका लागि राज्यका उच्च पदस्थ व्यक्तिलाई यसको सजाय दिनु र सुनाउनु आश्चर्यको विषय होइन । ती देशमा बेलाबखत धेरै नेतालाई यसरी सजाय दिइएको छ । र अहिले, मुसर्रफलाई फाँसी दिने निर्णयले तानशाही व्यवस्थापनमा रुचि अथवा शोख हुने कोहीलाई चेतावनी भने पक्कै पनि दिएको छ । त्यसो त, तानशाहहरूको टाउको काटेर फुटबल खेलेको इतिहास पनि छ । तर भावावेश र आवेगको भाषा होइन, संविधान ।
संविधान भनेको कुनै भावनाको दस्तावेज वा चिठ्ठीपत्र पनि होइन । राज्यको कानूनी दस्तावेज हो । यसका आफ्नै विशिष्ट मूल्य र मान्यता हुन्छन् । जसलाई संविधानकै व्यवस्थाबमोजिम पालन गर्नुपर्ने हुन्छ ।































प्रतिक्रिया