काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक हवका रुपमा विकास गर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजबाट शुरु भएको सप्ताहव्यापी स्वयम्भू साँस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौँ महानगर क्षेत्रभित्रै विश्व सम्पदा सूचिमा सुचिकृत चार ओटा सम्पदा क्षेत्र रहेको भन्दै ती क्षेत्रको प्रर्वद्धका लागि पनि यस्ता महोत्सव र साँस्कृतिक कार्यक्रमले थप सहयोग पुग्ने बताए । ‘विश्व सम्पदा सूचिमा सूचिकृत हनुमान ढोका दरबार क्षेत्र र स्वयम्भूको दूरी करीब दुई दशमलब दुई किलोमिटर मात्रै छ,’ उनले भने, ‘यी दुई सम्पदालाई जोड्ने गरी हामीले हनुमान ढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि गुरुयोजना तयार पारिसकेका छौँ । यसलाई मूर्तरुप दिने प्रक्रियाको समेत थालनी भएको छ ।’
मेयर शाक्यले आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको भन्दै महानगरपालिकाले यसलाई बर्ष भरी नै मनाउने र नेपाल घुम्न आएका पर्यटकको बसाई लम्ब्याउन नयाँ–नयाँ योजना ल्याउने पनि बताउनुभयो । ‘हामीले आजै हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेका छौँ,’ उनले भने, ‘नेपाल घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने, उहाँहरुलाई मुस्कानसहितको सेवा प्रदान गर्ने, नेपाल चिनाउने केही उपहार दिएर पठाउने जस्ता योजना पनि हामीले बनाएका छौँ ।’
उनले पर्यटकलाई आकर्षित गर्न महानगर क्षेत्रको सरफाइलाई ध्यान दिने, बाँकी रहेका सम्पदा पुर्ननिर्माणको कामलाई दू्रत गतिमा सम्पन्न गर्ने जस्ता कुरामा पनि महानगरपालिकाले ध्यान दिने बताए । ‘ नेपाल भ्रमण वर्ष २०२० लाई नै केन्द्रित गरेर काठमाडौँ महानगरपालिकाले ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ,’ उनले भने, ‘नेपाल घुम्न आएका पर्यटक फर्किर आफ्नो देश जाँदा एक पटक नेपाल घुम्न जानुपर्छ है भन्ने सन्देश लिएर जान सकुन भन्ने वातावरण बनाउने गरी लागिरहेका छौँ । हामी त्यसमा सफल हुन्छौँ ।’
कार्यक्रममा बोल्दै काठमाडौँ क्षेत्र नम्बर–८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले पनि मूर्त–अमूर्त सम्पदा संरक्षणका लागि काठमाडौँ महानगरपालिका र सरकारकाले सकारात्मक पहल गरिरहेको भन्दै काठमाडौँ महानगरले साँस्कृतिक सहरको पहिचानलाई अझै उच्चो बनाउँदै थप पर्यटकलाई आकर्षित गर्ने गरी अघि बढ्नु पर्ने बताए । ‘नेपाल सगरमाथा र बुद्ध जम्मिएको देश हो भन्ने पहिचान हामीले विश्वभरी नै चिनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेपाल भ्रमण वर्ष २०२० हाम्रा लागि अवसर पनि हो । यसलाई अब एक वर्ष मात्र होइन कम्तीमा आठ–दश वर्षसम्म अभियानकै रुपमा अघि बढाउनुपर्छ ।’
नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र काठमाडौं महानगरपालिका वडा–१५ वडाको आयोजनामा यस्तो भव्य महोत्सव आयोजना भएको भन्दै खुशी व्यक्त गरे । ‘काठमाडौँ महानगरपालिकासँग मिलेर हामीले यस अघि पनि ट्राफिक व्यवस्थापन, सरसफाई कार्यक्रम, सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा जस्ता अभियानमा पनि सहकार्य गरेका छौँ,’ उनले भने, ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि काठमाडौँ महानगरपालिकाको विशेष भूमिका छ । हामी महानगरपालिकासँग यस्ता धेरै सहकार्य गरेर अघि बढ्न चाहन्छौँ ।’
महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष ईश्वरमान डंगोलले एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सांस्कृतिक पहिचानहरु झल्कने कार्यक्रमहरु हुने पनि बताए । ‘आधा घन्टा नबस्ने पर्यटक २–३ घन्टा बस्ने र वसन्तपुर क्षेत्रमा आएका पर्यटकलाई स्वयम्भू ल्याउने योजनासाथ यो कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘यसअघि स्वयम्भू आउने पर्यटक घुमेर थोरै समयमा जाने गरेकोले अब त्यहाँ के छ भनेर जानकारी गराउन भिडियो, फोटो प्रदर्शनी गराउने, डकुमेन्ट्री देखाउने तयारी छ ।’ महोत्सव पुस २२ गतेसम्म चल्नेछ ।





























प्रतिक्रिया