सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ । रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै समयमा रगत दान गर्ने भएका कारण अधिकांश स्थानीयवासीको सेना, प्रहरीले अकालमै ज्यान जोगाइदिने गरेका छन् । सेना तथा सशस्त्र प्रहरीले यहाँका सयौँ नागरिकलाई आफ्नो रगत दिएर ज्यान जोगाउन सफल भएका छन् ।
यसै सिलसिलामा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रगतदान गरेर ११० स्थानीयवासीको ज्यान बचाएका छन् भने सशस्त्र प्रहरीले ८५ को ज्यान जोगाएको बताइएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले आफ्नो रगत दिएर यहाँका ११० स्थानीयवासीको ज्यान जोगाउन सफल भएको छ । सुदूरपश्चिम प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषलाई निःशुल्क रगतदान गरेका कारण उनीहरुको ज्यान जोगिने गरेको छ । सेनाले सुदूरपश्चिममा रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । कसैलाई रगत आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रगत दान गर्दै आएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ ।
समयमै रगत नपाउँदा विगतका वर्षमा यहाँका अधिकांश महिला तथा पुरुषको अकालमै ज्यान जाने गरेको भए पनि पछिल्लो समय सेना तथा सशस्त्रले भनेकै समयमा सहजै रगत दिन थालेपछि स्थानीयवासीले राहत पाउनुका साथै उनीहरूको ज्यान जोगिन थालेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका हर्कबहादुर बोहराले बताए-“बिरामीलाई चाहिएको बेला रगत नपाउँदा अधिकांशले ज्यान गुमाएका थुप्रै उदाहरुण छन्, अहिले सेना र सशस्त्रले रगत दिन थालेपछि ज्यान जोगिन थालेको छ, बिरामीलाई सहज भएको छ ।”
दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा स्थानीय तहको पहलमा एक ब्लड बैंक तत्कालै स्थापना गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरउपप्रमुख प्रेमबहादुर शाहले आवश्यकता औंल्याए । सेना तथा सशस्त्र प्रहरीले प्रायः यहाँका अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा तथा डोटीका सुत्केरी तथा विभिन्न घटनामा परी घाइते भएकालाई रगतदान गरेर ज्यान बचाएको सशस्त्र प्रहरीको दिपायलमा तैनाथ रहेको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले बताए, “हामीले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा आवश्यक परेका बेला आफ्नो रगतदान गर्ने गरेका छौँ, हाम्रो रगतले कसैको ज्यान जोगिन्छ भने हामी जतिबेला पनि रगत दिन तयार छौँ ।”
यहाँका सुरक्षाकर्मीले आफू मातहत रहेका सम्पूर्ण सुरक्षाकर्मीको रगत समूह पहिले नै छुट्याएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानीयवासी सेना तथा सशस्त्र प्रहरीका ब्यारेक तथा युनिटमा रगत माग्न धाउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । जिल्लामा रहेका स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने बानीको विकास भइनसकेकाले जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताए ।
जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले खोलेको ब्लड बैंकमा रगत नपाउँदा वर्षौदेखि बन्द अवस्थामा रहेको छ ।































प्रतिक्रिया