विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरण

विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरण

केन्द्रबिन्दु
0
Shares

बाँके ।

बाँकेका विद्यालय क्षेत्र नजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिका अनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ । तर यो नियमबारे विद्यालय क्षेत्रमा पसल खोलेर बसेका धेरैलाई थाहा छैन ।

नेपालगञ्ज उपमहानगरपालिका-४ को आधारभूत विद्यालय क्षेत्रमा पसल सञ्चालन गर्दै आएका राजकश्यप आफूलाई यस्तो नियमबारे कसैले नभनेको र थाहा नपाएको बताउँछन् । उनी उक्त विद्यालय सञ्चालक समितिको सदस्य हुन् ।

विद्यालय क्षेत्रमा नियमविपरीत पसल सञ्चालकले सुर्ती तथा मादक पदार्थ बिक्री गरिरहेको अभिभावकको गुनासो धेरै आएपछि नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा समितिले विद्यालयभन्दा १०० मिटरको दूरीमा २० वर्ष मुनिका विद्यार्थीलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सूचना जारी गरेको छ । तर, यो सूचना कसैले टेरेका छैनन् । सूचना जारी गरेको चार महिनामा एकपटक पनि अनुगमन गरिएको छैन । शिक्षा शाखाप्रमुख गोर्खबहादुर थापा भन्छन्, “अनुगमन हामीले गर्ने होइन, यो दायित्व त स्थानीय प्रशासनको हो ।”

बालबालिकाको भविष्यसँग खेलबाड गर्ने गरी विद्यालय क्षेत्रका पसलले सुर्ती र मदिराजन्य पदार्थ बिक्री गरिरहँदा झारा टार्ने सूचना जारी गर्ने, अनुगमनमा बेवास्ता गर्नु र सम्बद्ध कार्यालयबीच समन्वय नहुँदाका कारण नियम कार्यान्वयनमा चुनौती देखिएको छ ।

“निर्णय कार्यान्वयनको प्रयास नभएको होइन, तर विद्यालय क्षेत्रमा स–साना पसल सञ्चालन गर्नेले आफ्नो रोजीरोटी खोसिन लाग्यो भनेर होहल्ला गरेर विषयलाई अन्यत्र मोड्न खोजेपछि चुनौती थपिएको हो” नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले भने ।

गतबिहीबार बागेश्वरी असल शासन क्लब (बास) को सहजीकरणमा उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाइमा नगरप्रमुख डा धवलशम्शेर राणाले विद्यालय आसपासमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

सार्वजनिक सुनुवाइमा जारी गरिएको १० बुँदे प्रतिबद्धतापत्रमा नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्षहरुले विद्यालय क्षेत्र नजिकका पसललाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न नदिइने हस्ताक्षर गरे पनि त्यसको कार्यप्रगति शून्यभन्दा माथि उठ्न सकेको छैन । बाँकेमा सामुदायिक २५१ र संस्थागत १७६ विद्यालयमा झण्डै डेढ लाख विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo