राष्ट्रिय एकता र समृद्धिको जनमत तयार पार्न लाग्नुस् : अध्यक्ष दाहाल

राष्ट्रिय एकता र समृद्धिको जनमत तयार पार्न लाग्नुस् : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले भने, “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएका छन् ।”

परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए । “अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइजेशन मुख्यरूपमा काम गरेको छ । त्यसका लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ”, उनले भने ।

उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजग हुनुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह पनि गरे ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धता अनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाइ थियो । “पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौँ । पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौँ । पाँच वर्षका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ ।”

उनले सरकारले इमान्दारीका साथ काम गरिरहेकाले विरोधीले गरेको जस्तो प्रचारले कुनै अर्थ नराख्ने भन्दै त्यस्ता प्रचारको खण्डन गर्नसमेत आग्रह गरे । पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ” पूर्ण अवधिका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ, कुनै आशङ्का नपालौँ, नराखौँ”, उनले भने । पार्टीका विचार, राजनीतिक दृष्टि र पार्टीका कार्यक्रमलाई जनतामा लग्नुपर्ने बताउँदै उनले राष्ट्रको स्वतन्त्र जनतामा राष्ट्रको स्वन्त्रतता र भौगोलिक अखण्डतालाई संरक्षण गर्ने काममा कम्युनिष्ट पार्टीले नै राष्ट्रको एकतालाई सुदृढगरी अग्रणी र नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे ।

सामाजिक न्याय र समृद्धिको लडाइँमा कम्युनिष्टले सबैभन्दा अगाडि रहेर बलिदान दिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले राष्ट्रको एकता र समृद्धिका लागि समेत सरकार र पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे ।

केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको बताउँदै उनले त्यो कुनै हालतमा सफल हुन नसक्ने स्पष्ट गरे । हालै सम्पन्न स्थायी कमिटी बैठकले पनि विचारमा एकरुपता हुनु नै पार्टी एकताको मुख्य आधार हो भनेर जोड दिएको छ भन्दै उनले विचारमा एकरुप आधार बन्दैनथ्यो भने केही समूह र नेतृत्वले चाहँदैमा पार्टी एकतासमेत हुन नसक्ने बताए ।

कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी र सरकारको निर्देशन अनुसार प्रेस सङ्गठन प्रतिबद्ध भएर परिचालित हुनुपर्ने बताए । उनले पार्टीको विरोध सीमाभित्र रहेर गर्न पाइने र वैचारिक विषयवस्तुलाई सङ्गठनले बोकेर लैजानुपर्नेमा जोड दिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सङ्गठनलाई पार्टीको गुट वा उपगुट, यो नेता वा त्यो नेता नभनी पार्टीको वैचारिक कुरालाई आत्मसात् गर्नुपर्ने बताए । उनले सङ्गठनलाई सरकार र पार्टीको राम्रो कामको प्रचारमा लाग्नसमेत निर्देशन दिए ।

Logo