पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युवा विद्यार्थी देशको भविष्यको कर्णाधार भएकाले उनीहरुमा समाज परिर्वतनको सङ्कल्प हुनुपर्ने बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पोखराको पृथ्वीनारायण क्याम्पसमा आज नवआगन्तुक विद्यार्थीहरुको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रमा उनले विद्यार्थीले व्यक्तित्व विकास गर्दै समाज परिर्वतन गर्ने दृढता र सङ्कल्प राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेता नेपालले भने, “विद्यार्थी नेता बनेर पदको दुरुपयोग गर्ने र पैसाको बार्गेनिङ गर्ने होइन, समाजलाई माथि उठाउन र सबैलाई सहयोग गर्ने भावनाबाट आगाडि बढ्नुपर्दछ । ज्ञानको क्षितिजलाई फराकिलो बनाउनुपर्छ ।”
समाजमा अहिले सबैतिर नकारात्मकता र निराशा मात्र हाबी रहेको चर्चा गर्दै उनले बढी निराश बन्ने व्यक्ति मानसिक समस्याको शिकार हुने भएकाले विद्यार्थीले आशावादी र चुनौतीको सामना गर्ने आट र साहसका साथ केही गरेर देखाउँछु भन्ने भावना राख्नुपर्ने सुझाव दिए ।
नेता नेपालले कम्युनिष्ट पार्टीमा आस्था राख्ने विद्यार्थी मेहनती, इमान्दार, सफल, सबैको प्यारो र मुस्कानसहितको व्यवहार गर्ने हुनुपर्नेमा जोड दिदैं नेपाली जनताले कम्युनिष्ट पार्टीलाई मन पराएर साथ दिँदै आएकाले पार्टी लोकप्रिय भएको बताए ।
अनेरास्ववियुका केन्द्रीय नेता रश्मी आचार्य, क्षितिज सापकोटा, जिल्ला अध्यक्ष विवेक देवकोटा, क्याम्पस इकाइका सभापति राजन शर्मा पराजुली लगायतले विद्यार्थीको हकअधिकारका विविध पक्षमाथि प्रकाश पारे । कार्यक्रममा कलाकारहरुले साङ्गीतिक प्रस्तुति गर्नुका साथै क्याम्पसका उत्कृष्ट प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
सक्षम महिलालाई अघि बढाउनुपर्छ
यस्तै नेता नेपालले समाजका सक्षम महिलालाई अघि बढाउनुपर्ने बताएका छन् । ‘नेपालका मुस्लिम समुदाय’ नामक पुस्तक विमोचन तथा ‘पुनःजागरणमा महिला अन्दोलन’ नामक लघु चलचित्र सार्वजनिक गर्दै उनले समाजका हरेक योग्य महिलालाई अघि बढाउनुपर्नेमा जोड दिए ।
“हरेक समुदायका महिला कुनै न कुनै हिसाबले र हाम्रो सामाजिक कारणले पछि परेका छन्, अब योग्य महिलालाई समाजले नै अघि बढाउनुपर्छ”, उनले भने, “सामाजिक कुरिति र विकृतिविरुद्ध सबै एक हुनुपर्छ ।” सामाजिक जागरणको लागि सशक्त लेखनको आवश्यकता भएको बताउँदै नेता नेपालले महिला हिंसा, बलात्कार, जिउँदै जलाउनेलगायतका दुर्व्यवहार मानव नभइ दानवले गर्ने गरेको टिप्पणी गरे ।
नेता नेपालले मुस्लिम समुदाय नामक पुस्तक लेखक एवं वृत्तचित्रका निर्देशक जैनव खातुनलाई आफ्नो समुदायभित्रको विकृति र विसङ्गतीविरुद्ध निरन्तर कलम चलाउन आग्रह गरे। विमोचित पुस्तकमा नेपालका मुस्लिम समुदायको अवस्था, कला संस्कृतिसहित राजनीतिक अवस्थाका बारेमा चर्चा गरिएको छ ।





























प्रतिक्रिया