काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारसँग १८ महिनाको सहकार्यपछि समाजवादी पार्टीले मंगलबार सरकार मात्र छोडेन, सरकारलाई दिएको समर्थनसमेत फिर्ता लियो र प्रतिपक्षमा बस्ने निर्णय गर्यो । यसले सत्ता हेरफेरको अंक गणितमा तात्विक असर त गर्दैन तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै मधेशवादी दलको समर्थन गुमाएको सन्देशचाहिँ प्रवाह गरेको छ । यसअघि प्रतिनिधि सभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले २०७५ फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समाजवादी पार्टीको सत्ता बहिर्गमनसँगै नेपाली राजनीतिमा अहिले सबैका आँखा राजपातिर सोझिएका छन् । यद्यपि राजपाका नेताहरूले तत्काल सरकारमा सहभागिता नभएको बताउँदै आएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा नेकपा र राजपाबीच भएको गठबन्धनको सहमति र राजपालाई सरकारमा सहभागी गराउने संघीय सरकारका मन्त्रीहरूको अभिव्यक्तिले गर्दा पनि राजपाको सत्तारोहणको सम्भावना यतिबेला नेपाली राजनीतिको ‘टक अफ दि टाउन’ बनेको छ । यसै विषयमा ५ वटा प्रश्नमा केन्द्रित रही केन्द्रविन्दु अनलाईनका राजनीतिक ब्युरो प्रमुख प्रकाश लुईटेलले राष्ट्रिय जनता पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोसँग कुराकानी गरेका छन् । प्रस्तुत छ केन्द्रविन्दुका ५ प्रश्नमा महतोको जवाफ:
प्रश्न १
राजपा सरकारमा जाने सम्भावना नरहेकै हो त ?
अहिलेकै अवस्थामा कुनै सम्भावना छैन । समाजवादी पार्टीले त मधेशको जनतालाई धोका दिएर सरकारमा सहभागी भएको हो । हामीलाई पहिले नै ओली नेतृत्वको सरकारमाथि शंका थियो, त्यसैले हामीलाई २ वर्षअघि नै अफर आउँदा पनि सरकारमा नगएका हौं । यो दुई वर्षमा के तात्विक फरक भयो र सरकारमा जाने ?
प्रश्न २
कुन अवस्थामा तपाईहरू सरकारमा सहभागी हुने सम्भावना बढ्छ?
हामीले निरन्तर उठाइरहेको रेशम चौधरीको रिहाइ, संविधान संशोधन, आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लगायतका माग सम्बोधन भए मात्र सरकारमा जान्छौं । माग सम्बोधन हुने सहमति भएर मात्र पुग्दैन, सम्बोधन नै हुनुपर्छ । नत्र त हामीलाई २ वर्षअघि नै सरकारमा जाने अफर थियो नि ! हामी जनतालाई धोका दिएर सत्ताभोग गर्न चाहँदैनौं ।
प्रश्न ३
राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपाबीच हुने गठबन्धनले पनि राजपाको सत्तारोहणको सम्भावनालाई बलियो बनाएको अड्कलबाजी गरिन्छ नि ?
राष्ट्रिय सभाको निर्वाचनमा नेकपासँग भएको गठबन्धनकै आधारमा राजपा सरकारमा जान्छ भन्ने अड्कलबाजी गर्नु वाहियात कुरा हो । राजनीति नबुझ्नेले गर्ने सतही कुरा हो । त्यो गठबन्धन सरकारसँग रहेको एउटा डेडलक खोल्नका लागि मात्र हो ।
प्रश्न ४
समाजवादी पार्टीसँग एकीकरणको सम्भावना कस्तो छ ?
हामीले भनेको मानेर समाजवादी पार्टीले सरकार छोडेको होइन । त्यसैले सरकार छोड्ने बित्तिकै समाजवादी पार्टीसँग एकीकरणको सम्भावना बढेको भन्नु गलत हो । तथापि हाम्रा मागहरूमा सकारात्मक हुने सबैसँग हामी सहकार्य गर्न सधैं तयार छौं ।
प्रश्न ५
नेपाली कांग्रेससहित प्रतिपक्षमा रहेका सबै दलहरू मिलेर सरकारको कामकारवाही विरूद्ध मोर्चा बनाएर अघि बढ्ने कुरा आएको छ नि ! अब समाजवादी पनि प्रतिपक्षमा आएपछि त्यस्तो मोर्चाबन्दीको सम्भावना बढेको हो ?
हामीले अघि सारेका मागहरूमा सकारात्मक हुने जोसुकैसँग सहकार्य हुने सम्भावना रहन्छ । समाजवादी पार्टीले अहिले सरकार छोड्नुपछाडि संविधान संशोधन मात्र कारण भएजस्तो मलाई लाग्दैन । संविधान संशोधन नगर्ने कुरा त २ महिनामै थाहा हुन्थ्यो नि, किन १८ महिना बसिरहनु पथ्र्यो र !





























प्रतिक्रिया