काठमाडौं ।
नेपालमा भर्खरै सम्पन्न १३ औं सागमा व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भएपनि टिम खेलका रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएकोमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ , ‘ऐतिहासिक रुपमा साग आयोजना गर्नुका साथै खेलाडी र खेलकुदलाई अघि बढाउन महत्वपूर्ण काम गर्दै आएको सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई हामी टिम खेलका रजत र कांस्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं ।’
विज्ञप्तीमा नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेका थुप्रै घटना रहेको र यसपाली वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गरिएको छ ।
सरकारले खेलाडीको हौसला अभिवृद्धिका लागि आकर्षक पुरस्कारको घोषणा गरेको प्रति भने खेलाडी संघले स्वागत गरेको छ । नेपालले इतिहासमै सबभन्दा बढि ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक सहित १३ सागमा कुल २ सय ६ पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो ।





























प्रतिक्रिया