काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक तीन दिन सरेकाे छ । नेकपाले आउँदो २० गतेका लागि तय केन्द्रीय कमिटी वैठक २३ गते सरेकाे हाे । मंसिर २९ देखि जारी स्थायी कमिटीको बैठकले पुस २३ को मिति तय गरेको स्थायी समिति सदस्य किरण गुरुङले जानकारी दिए। आज सकिएकाे नेकपाकाे स्थायी कमिटीकाे बैठकले २३ गते तय गरेकाे हाे ।
तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा ३ सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन्। नेकपाको विधान अनुसार केन्द्रीय समितिको बैठक ६ महिनामा एक पटक बस्नुपर्छ। तर, २०७३ जेठ ३ गते पार्टी एकीकरण भएपछि एकपटकभन्दा बढी बैठक बसेको छैन।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे स्थायी कमिटी बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ। साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।
महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ। केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनेछन्।
नेकपामा उपाध्यक्ष रहने व्यवस्था थिएन। सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो। नेकपामा अब एक उपाध्यक्ष रहने विधानमै व्यवस्था हुने भएको छ।































प्रतिक्रिया