लुटपाट अभियोगमा ५ जना पक्राउ

लुटपाट अभियोगमा ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौ मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने कपन बस्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९१५ रुपैयाँ र सहकारीका कागजात तथा चेकबुक लुटेर फरार रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी असन वतन भई भुरुङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका-२६ नरदेबी वतन भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेबी वतन भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेबी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका-२ वतन भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् ।

उक्त नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफे नजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाईते बनाई, डर धाक धम्की दिई लुटपाट गरी फरार रहेका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३२५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी चलिरहेको गाडीबाट विभिन्न सर-सामानहरु पटक-पटक चोरी गरेको भन्ने बुझिन आएको छ ।

आवश्यक कारवाहीका लागि उनीहरू मध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ ।

Logo