सीमामा ११४ सुरक्षा पोस्ट थपिँदै

सीमामा ११४ सुरक्षा पोस्ट थपिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल अन्तर्गत एक सय १४ वटा सीमा सुरक्षा पोस्ट (बीओपी) थप्ने निर्णय गरेको छ। सीमा अतिक्रमण र तस्करी नियन्त्रणका लागि सरकारले बीओपी थप्ने निर्णय गरेको हो।

अहिले एक सय सात वटा बीओपी छन् । सशस्त्र प्रहरी मुख्यालयका अनुसार केही बीओपी पाँच किलोमिटर र केही ५० किलोमिटर दुरीमा छन् । मुख्यालयका अनुसार दाङको कोइलाबासमा एउटा बीओपी छ। पर्सादेखि झापासम्म भने व्यवस्थित छ।

पश्चिम क्षेत्रमा भने बीओपी ज्यादै पातलो रहेको मुख्यालयले जनाएको छ। नेपालगन्जका बीओपी निकै टाढाटाढा छन्। सशस्त्र प्रहरी मुख्यालयले दुई वर्ष अघि दुई सय ६५ स्थानमा बीओपी राख्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा गरेको थियो। तर, अहिलेसम्म पूर्ति हुन सकेको थिएन।

उत्तरी नाका दार्चुलाको छाङ्रो, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा बीओपी राख्ने गृहकार्य सशस्त्रले थालेको छ। किमाथांकामा तत्काल जग्गा प्राप्ति नभएपछि घरभाडामै लिएर बीओपी राख्ने तयारी गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता सुरजकुमार श्रेष्ठले दिए। सशस्त्रले उत्तरी सीमामा १७ वटा बीओपी स्थापना गर्ने स्थान गर्ने पहिचान गरिसकेको छ। त्यस्तै भारतीय सीमातर्फ दुई सय ४८ स्थानमा नयाँ बीओपी राख्ने ठाउँ पहिचान भएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार एक सय १४ वटा बीओपी स्थापना भएपछि प्रत्येक बीओपी १० देखि १२ किलोमिटर फरकमा हुन्छन्। उनले भने, ‘हामीले दुई सय ६५ स्थानमा बीओपी आवश्यक रहेको सुझाव सरकारलाई दुई वर्षअघि नै दिएका थियौं। अहिले एक सय १४ वटा थप्ने निर्णय सकारात्मक छ।’ उनले पूर्वाधार निर्माण गर्दै बीओपी स्थापना गर्ने बताए। ‘अब हामी पूर्वाधार निर्माणमा जुट्छौं। कतिपय स्थानमा जग्गा खरिद गर्नुपर्ने हुन्छ’, श्रेष्ठले भने।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo