काठमाडौं ।
आज आठौँ राष्ट्रिय पोशाक दिवस र नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । ‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाईएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरि राष्ट्रिय पोशाक दिवस मनाएको छ ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार प्रसार गर्ने गरेका छन् ।

बिसं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो । यस दिवसको संयोजन गर्दै आएका राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धराशायी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको शुरुवात गरिएको बताए । सरकारले नेपालको सबै जातजाति, भाषा, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने साझा पोशाक घोषणा गर्नुपर्ने पनि उनले बताए ।

यस दिन देश विदेशमा छरिएर रहेका नेपालीहरुले स्वस्फुर्त रुपमा दौरासुरुवाल तथा गुन्युचोली लगाएर विभिन्न कार्यक्रमहरुमा भाग लिने तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दै आएका छन् ।

यस्तै आजै आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइएको छ । विगत वर्षमा जागरुक युवा अभियान नेपालले औपचारिक कार्यक्रम गरि टोपी दिवस मनाउने गरेकोमा यस वर्ष भने कोरोना प्रभावका कारण कार्यक्रम भने गरेन । सामाजिक संजालहरुबाटै जे सकिन्छ नेपाली टोपी दिवसलाई मनाउन संस्थाले अनुरोध गरे अनुसार आज टोपी दिवस मनाइएको संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।






























प्रतिक्रिया