प्रसुन संग्रौला । काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सुरु हुन केही दिनमात्र बाँकी थियो, सारा मुलुक उत्साहित थियो । खेलाडीहरू विशेष तयारीमा जुटिरहका थिए । यसै दौरान राष्ट्रिय फुटबल टिमका स्टार खेलाडीहरू फर्वार्ड विमल घर्तीमगर एवं मिड फिल्डर अन्जन विष्ट र डिफेन्डर दिनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन गर्यो ।
यस घटनापछि फुटबल प्रशंसकहरूमा अब के होला त भन्ने भय प्रवेश भयो । यसले फुटबल प्रेमीहरूलाई ठूलो झट्का दियो, उनीहरूमा निराशा छायो । केहीले अब नेपालको फुटबलमा स्वर्ण जित्ने सम्भावना धेरै नै कम भयो भनेर हार मानिसकेका थिए । केही फुटबल विशेषज्ञहरूले ती खेलाडीहरूको अनुपस्थितिमा धेरै घाटा लाग्नसक्छ भनेर पनि अनुमान गरेका थिए ।
मध्यरातमा विभिन्न क्लबमा झगडा गर्दै हिँडेका हुनाले ती ३ खेलाडीलाई कारवाही गरिएको थियो । एन्फाले खेलाडीहरूलाई यसअघि पनि चेतावनी दिइरहेको तर अटेर गरेर अराजक हुँदै गएपछि कारबाही गरिएको हो भनेर एन्फा प्रवक्ता किरण राईले स्पष्टीकरण दिएका थिए । केहीअघि मात्र एन्फाले उनीहरूलाई नगद जरिवाना तथा अन्य कारवाही गरिसकेको छ ।
यत्तिकैमा साग गेम सुरु पनि भयो, नेपालको पहिलो खेल भुटानसँग थियो, जसमा नेपालले नसोचेको परिणम हासिल गर्यो र शानदार जीत आत्मसात् गर्यो । नेपालले भुटानलाई ४–० गोल अन्तरले हरायो । नेपालको यस जितपछि केही आशा जागेर आयो तर अझै खेल बाँकी थिए ।
पहिलो खेलको तुलनामा नेपालको दोस्रो खेल त्यति मजबुत हुन सकेन, श्रीलंका विरुद्धको खेल १–१ गोलको बराबरीमा टुङ्गयायो ।
नेपालको तेस्रो खेल माल्दिभ्स विरुद्ध थियो जसमा नेपाल २–१ को गोल अन्तरले जीत हासिल गर्न सफल भयो ।
चौथो खेल नेपालको लागि निकै महत्वपूर्ण थियो । यो खेल बंगलादेश विरुद्ध थियो, नेपालले फाइनलमा प्रवेश पाउने वा नपाउने कुराको निर्णय यस खेलबाट निर्णय हुने थियो । उक्त खेलमा नेपालले बंगलादेशलाई १–० गोलले पराजित गरेर फाइनल प्रवेश गर्यो ।
फाइनलमा फेरि नेपाल भुटान विरुद्ध नै खेल्नुपरेको थियो, २० वर्षपछि फेरि होम ग्राउन्डमा जित्ने अवसर मिलेको थियो दवाव त अवश्य पनि भई नै हाल्छ । आफूले आफूलाई प्रमाणित गर्ने नेपाली फुटबल टोलीलाई यो ठूलो अवसर थियो । यत्तिकैमा खेल सुरु भयो र नेपाली टोलीले सारा मुलुकलाई गौरव पार्ने गरी २–१ गोलको अन्तरले भुटानमाथि विजय हासिल ग¥यो । एउटा पनि खेलमा पराजित नभईकन नेपाली फुटबल टिम स्वर्ण पदकको विजेता भयो ।
तीनजना स्टार खेलाडीहरूलाई निलम्बन गरिएपछि जति पनि अनुमानहरू लगाइएका थिए, ती सबै गलत भए । निराश भएकाहरूमा आशाको सञ्चार भयो । नेपालको प्लेइङ इलभेनले प्रशंसकहरूको मुहारमा खुसी छरिदिए ।
कस्तो रह्यो स्टार खेलाडीविनाको खेल ?
राम्रो खेल्ने, धेरै अनुभव भएको र सबैले दर्शकहरूले आशा राखेको खेलाडीलाई नै स्टार खेलाडीको उपमा दिइन्छ । यसरी स्टार खेलाडीहरूको अनुपस्थितिमा खेलिने खेल पक्कै पनि चुनौतीपूर्ण हुन्छ । नेपाली फुटबल टिमलाई पनि यस पटकको साग धेरै चुनौतीपूर्ण रहयो ।
साग खेलकुदका लागि फुटबलको कप्तान रहेका सुजल श्रेष्ठ बताउँछन्, उनीहरू निलम्बनमा परेपछि सुरु सुरुमा खेलमा धेरै किसिमले नकारात्मक असरहरू पर्ला जस्तो लागेको थियो, सबै खेलाडीहरू निराश थिए तर हिम्मत हारेका थिएनन् । यो हाम्रो लागि खेल मात्र थिएन आफूलाई प्रमाणित गर्ने सुनौलौ अवसर पनि थियो र त्यो अवसरमा हामी सफल भयौँ । पछि थपिएका ३ खेलाडीले सोचेको भन्दा राम्रो खेले त्यसैले पनि हामीले जित हासील गर्यौँ । ती ३ खेलाडीहरू निलम्बनमा नपरेको भए खेल अझ राम्रो हुने थियो कि भन्ने अझै लाग्छ । कप्तान श्रेष्ठले केन्द्रविन्दुलाई बताए ।
नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बाल गोपाल महर्जन भन्छन्– यसपालिको सागमा कोहीसँग पनि पराजित नभईकन स्वर्ण हासिल गर्न पाउँदा धेरै गर्व महसुुुस भएको छ ।
खेलाडीको पहिलो पहिचान भनेकै उसको अनुशासन हो, सारा मुलुकले आशा राखेको खेलाडीहरूले अनुशासन विपरीतको काम गर्दा दुःख लागेको छ । यसपालिको सागमा नयाँ खेलाडीहरूले धेरै राम्रो अवसर पाए, उनीहरूले आफूहरू पनि स्टार खेलाडीभन्दा कम नभएको कुरा देखाउने अवसर पाए । ३–३ जना स्टार खलाडी नहुँदा पनि खेलमा खासै फरक नपरेका कुरा मर्हजनले बताए ।
नेपाल राष्ट्रिय फुटबल टोलीका भूतपूर्व प्रशिक्षक राजु शाक्य भन्छन्–सबैजना अनुशासनमा बस्नु पर्छ, त्यसमाथि पनि खेलाडीहरूले त यो कुरामा कुनै सम्झौता गर्नु हुँदैन । घर्तीमगर, विष्ट र राजवंशीले ब्लन्डर मिस्टेक गरेका हुन् र उनीहरू सजायका हकदार छन् । राष्ट्रिय फुटबल टोलीका नयाँ खेलाडीहरूको प्रस्तुति निकै राम्रो छ तर अझ सुधार गर्ने आवश्यकता छ । ३ स्टार खेलाडीको कमी मैदानमा धेरथोर देखिन्थ्यो ।





























प्रतिक्रिया