धनुषा । धनुषामा गएराती भएको बम विस्फोटमा प्रहरीको हेलचक्र्याइँ भएको देखिएको छ । घटनाको प्रकृति हेर्दा स्थानीय राजेश साहकी श्रीमती रातकाे १२:१५ बजेतिर शौचका लागि उठिन् । ढोकामा केहि झुन्डिएको देखेर श्रीमान् राजेशलाई पनि उठाइन् ।
राजेशले तत्कालै झोला झुन्ड्याइएको देखेपछि प्रहरीलाई खबर गरे । राजेशले दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखुवा महेन्द्रनगगरका इन्सपेक्टर अमिर दाहालसहित प्रहरीको टोली राजेशको घर पुगे । मुख्य गेटमा झुन्ड्याइएको झोलामा केही छैन भन्दै इन्सपेक्टर अघि–अघि र २ जना प्रहरी जवान पछि–पछि गएर झोला छुँदा बम विस्फोट भयाे ।
राजेश्वरको घरको गेटमा रहेको रातो रङ्गको झोला हेर्दै यो केही होइन, डराउनु पर्दैन, आउनुस् सबै जना घरमा भनेर बोलाएपछि राजेश साह पुगेर हेर्ने क्रममा पड्कीएको स्थानीय सुरेश साह बताउछन् । बम विस्फोटबाट घटनास्थलमै २ जनाको मृत्यु भयो भने अन्य सात जना घाइते भए । घाइते मध्येका इन्सपेक्टर दाहालको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीको भनाइ भने प्रकृतिभन्दा फरक छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवका अनुसार प्रहरीलाई सूचना आएर प्रहरी घटनास्थल पुग्दा भीड लागिसकेको थियो । प्रहरीको टोलीले भीड हटाउने कोशिस गर्दा विस्फोट भएको उपचारको क्रममा मृत्यु भएका प्रहरी निरीक्षकको भनाइलाई उद्धृत गर्दै प्रहरी निरीक्षक यादवले बताए । अहिलेसम्म घटनाको कसैले जिम्मा नलिएपनि विप्लव नेतृत्वमाथि आशँका गरिएको छ । घटना कसले, किन घटायो भन्ने विषयमा अनुसन्धान गर्न सुरक्षा समितिको बैठक बसिरहेको छ ।
गएराति धनुषामा भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय (सखुवा महेन्द्रनगर)का प्रहरी निरीक्षक अमिर दाहालसहित तीनजनाको मृत्यु भएको हो । बम विस्फोटमा परी गम्भीर घाइते भएका निरीक्षक दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान, धरानमा शनिबार बिहान ७ बजे मृत्यु भएको हो भने विस्फोटमा परेर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।
यस विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले बम विस्फोटमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याइछाड्ने दावी गरेका छन् । फेसबुकमा एक स्टाटस लेख्दै गृहमन्त्री थापाले मृतकहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना दिएका छन् ।
गृहमन्त्रीले लेखेका छन्– “धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गएराती भएको विष्फोटमा परि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह र आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ। मृतकहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।”































प्रतिक्रिया