सरकारले परिवर्तनको अनुभूति दिनुपर्छ : वरिष्ठ नेता नेपाल

सरकारले परिवर्तनको अनुभूति दिनुपर्छ : वरिष्ठ नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालन सम्बन्धी विगतका अनुभवलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा पार्टी जनताका बीचमा लोकप्रिय भइरहने बताउनु भएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको २५ औँ साधारणसभाको उद्घाटन कार्यक्रममा शुक्रबार कीर्तिपुरमा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनःएकीकृत भएकाले यसको महत्व तथा जिम्मेवारी थप बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुष्पलालले पाँच जनाबाट शुरु गर्नुभएको कम्युनिस्ट पार्टी आज लोकप्रिय र विश्वासिलो शक्तिका रूपमा विकास भएको छ । जनताको बढ्दो अपेक्षा र भरोसालाई पूरा गर्न सबै तहका सरकारले पार्टीको घोषणापत्र अनुसार काम गर्नुपर्छ । जनताका आकाङ्क्षा र परिवर्तनको सपनालाई सार्थक पार्नु नै हाम्रो यतिबेलाको प्रमुख कार्यभार हो । यो कार्यभार राम्ररी पूरा गर्न सक्दा मात्रै संस्थापक महासचिव पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि ठहर्छ ।”

साधारणसभामा प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले हालसम्म भएका कामको विवरण पेश गर्नुका साथै आगामी वर्षका लागि कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । प्रतिष्ठानले आगामी वर्ष संस्थापक महासचिव पुष्पलालको आधिकारिक जीवन प्रकाशन गर्ने, पार्टी स्थापनादेखि सबै महाधिवेशनलाई समेटेर ऐतिहासिक तस्वीर सङ्ग्रह प्रकाशन गर्ने, निर्माणाधीन पुस्तकालय भवनलाई पूर्णता दिने, रामेछापको भँगेरीमा पुष्पलालको पूर्णकदको शालिक स्थापना गर्ने, कम्युनिस्ट आन्दोलनका दस्तावेजको छैटौँ सङ्ग्रह प्रकाशन गर्ने, मुखपत्रका रूपमा नयाँ जनवाद प्रकाशन गर्ने जस्ता कार्यक्रम तय गरेको प्रतिष्ठानका सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।

Skip This
Skip This
Logo