प्रदेश ३ को राजधानी कहाँ ? आ-आफ्नै डम्फू !

प्रदेश ३ को राजधानी कहाँ ? आ-आफ्नै डम्फू !

केन्द्रबिन्दु
0
Shares

  • जितेन्द्र रसिक-

‘देशकै राजधानी समेटिएको प्रदेश ३ को स्थायी राजधानी कहाँ ?’ प्रश्न अनुत्तरित छ । मुलुकमा प्रदेश ३ को स्थायी राजधानीको बारेमा  अझै टुंगो लाग्न सकेको छैन । अहिले अस्थायी राजधानी हेटौंडा हो । स्थायी राजधानी, काभ्रेको बनेपा, भक्तपुर वा हेटौंडा भन्ने विकल्पमा छलफल भैरहेको छ ।

प्रदेशको राजधानी आफ्नो क्षेत्रमा पार्न दलका नेताहरु तँछाड् मछाड् गरिरहेका छन् । राजनीतिक खिचातानीकै कारण प्रदेश नं ३ ले स्थायी राजधानी पाउन सकेको छैन । तर प्रदेश नं ३ को राजधानी भक्तपुरलाई बनाउने प्रस्ताव खासगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अस्विकार गर्दै आएको छ । यस पार्टीले प्रदेश नं ३ को राजधानी भक्तपुर बनाउन नहुनेमा जोड दिँदै आएका छन् ।

– विकेन्द्रित सिद्धान्त अनुसार स्थायी राजधानी उपत्यका बाहिर राख्नुपर्छः विजुक्छे
– प्रदेश राजधानी भक्तपुरमा उचितः महेश बस्नेत
– हेटाैंडा नभए काभ्रे वा सिन्धुपाल्चाेक उचितः मुख्यमन्त्री पाैडेल

भक्तपुरलाई राजधानी बनाउन नमिल्ने कारण बारे केन्द्रविन्दुको जिज्ञासामा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले ‘मुलुक संघियतामा गइसकेको र विकेन्द्रिकृत मुलुकको अवधारणा अनुशार प्रदेशको राजधानी पनि विकेन्द्रित सिद्धान्त अनुसार उपत्यका बाहिर राख्नु पर्ने’ धारणा राखे । भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बिजुक्छले ३ नं प्रदेशको राजधानी बाहिर जिल्लामा नै बनाउनु उपयुक्त हुने निश्कर्ष सुनाए ।

तर नेकपाका युवा नेता तथा भक्तपुर क्षेत्र नम्बर २ का साँसद, प्रतिनिधिसभा सदस्य महेश बस्नेत भने प्रदेश ३ को स्थायी राजधानी भक्तपुर नै बनाउनुपर्ने अडानमा छन् । प्रदेश ३ को स्थायी राजधानी भक्तपुरबाहेक अन्य क्षेत्र उपयुक्त नभएको उनले तर्क गर्दै आएका छन् । प्रदेश ३ को राजधानी भक्तपुर बाहेक बाहिर जहाँ लगे पनि कोल्टे पर्ने बस्नेतले दावी गर्दै आएका छन् ।

काभ्रेलाई स्थायी राजधानी बनाउँदा हेटौंडालाई कोल्टेपर्ने, हेटौंडा बनाउँदा सिन्धुपाल्चोक, दाेलखा र नुवाकोटलाई कोल्टेपर्ने धारणा बस्नेतको छ । राजधानी भनेको जनताको पहुँच सेवा र सुविधा पुग्ने ठाउँमा राख्नुपर्ने उनको अडान छ । हेटौंडा अहिले अस्थायी राजधानी भएपनि हेटौंडालाई त्यहाँको विशेषतामा आधारित औद्योगिक सहरमात्र बनाउन सकिने उनले बताउँदै आएका छन् ।

बस्नेतले भक्तपुरलाई राजधानी बनाउँदा कार्यालय व्यवस्थापनको विकल्प समेत दिँदै आएका छन् । ‘भक्तपुर शिक्षा अफिसलाई मुख्यमन्त्रीको कार्यालय, कृषि विकास तालिम केन्द्र सानोठिमी मन्त्रालय, बोडेमा प्रदेशसभा, खरिपाटीको तालिम केन्द्रमा अन्य मन्त्रालय राख्न सकिने, पूर्वाधार व्यवस्थापनको विकल्प दिँदै बस्नेतले ‘नगरकोट खानेपानी अफिसलाई गभर्नरको कार्यालय बनाएर व्यवस्थापन गर्न सकिने बताउँदै भक्तपुरलाई नै प्रदेश नं ३ को स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

भक्तपुरमा अधिकांश क्षेत्र खाली भएकाले आधुनिक सहर बनाउन सकिने बस्नेतको तर्क छ । सल्लाघारीमा ९९ सय रोपनी, जगातीमा दुई सय ५० रोपनी, गठ्ठाघरमा रहेको हवाई विभागको चार सय रोपनी जग्गालाई प्रदेश सरकारको संरचनाका लागि उपयोग गर्न सकिने उनको प्रारम्भिक योजना रहेको छ । साथै चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको अधिकांश खाली क्षेत्र उपयोग गर्न सकिने पनि उनको तर्क छ ।

काभ्रे जिल्लाका नेताहरुले पनि प्रदेश ३ को स्थायी राजधानी काभ्रेलाई बनाउनु पर्ने तर्क राख्दै आएका छन् । काभ्रेपलान्चोक निर्वाचन क्षेत्र १ (क) का प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले उपत्यकामा (काठमाडौं, भक्तपुर र ललितपुर) मा प्रदेश ३ को राजधानी राख्नु उपयुक्त नहुने बताउदै आएका छन् । संघीयता भनेकै केन्द्रको सुविधा वितरण गर्ने संरचना भएकाले प्रदेश ३ को राजधानी काभ्रे हुनुपर्ने उनको दाबी छ । काभ्रे राजधानी हुँदा बीपी राजमार्गलाई प्रयोग गरेर उपत्यका नपसी प्रदेश राजधानीमा पुग्न सक्ने अवस्था भएको ३ जिल्ला बाहेक सबै जिल्लाको मध्यभागमा पर्ने भएकाले राजधानी पुग्न पनि सहज हुने उनले बताउँदै आएका छन् । काभ्रेमा स्थायी राजधानी भए शैक्षिक तालिम केन्द्र र बनेपाको आईटी पार्कजस्ता क्षेत्रको भरपुर उपयोग गर्न सकिने र यहाँका खाली भूभागमा पूर्वाधारहरु निर्माण गर्न सकिने उनको दावी छ ।

त्यसो त प्रदेश ३ को स्थायी राजधानीका लागि उपयुक्त सहर हेटौंडा र वा चितवन भएको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले दावी गर्दै आएका छन् । मुख्यमन्त्री पौडेलले आफ्नै क्षेत्र हेटौडालाई स्थायी राजधानी कायम गर्न जोड दिइरहेका छन् । मुख्यमन्त्री पौडेलले काठमाडौंको चाप घटाउनको लागि भीडभाडमाथि राजधानी बनाएर अर्को भीड थप्न नहुने तर्क राख्दै आएका छन् । हेटौंडा वा चितवनमा चित्त नबुझे बरु काठमाडौं बाहिर सिन्धुपाल्चोक वा काभ्रेमा लगेपनि आफुलाई आपत्ति नहुने उनको भनाई रहँदै आएको छ । तर मुख्यमन्त्री पौडेल सकेसम्म हेटौंडामै स्थायी राजधानी बनाउने र नसकेमात्र सिन्धुपाल्चोक वा काभ्रेमा आफु सहमत रहेको धारणा राख्दै आएका छन् ।

तर पौडेल कुनै हालतमा भक्तपुरलाई प्रदेश नं ३ को स्थायी राजधानी बनाउने पक्षमा छैनन् । भक्तपुरका नेमकिपाका अध्यक्ष विजुक्छेले समेत भक्तपुरलाई राजधानी बनाउन अस्विकार गरेपछि मुख्यमन्त्री पौडेललाई तर्क गर्ने मुख्य आधार मिलेको छ । मुख्यमन्त्री पौडेल मवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद हुन् ।

नेपालको कुल भौगोलिक क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर मध्ये प्रदेश नं ३ ले मात्रै २० हजार ३ सय वर्ग किलोमिटर ओगटेको छ । यो मुलुकको कूल भूभागको १४ प्रतिशत भूभाग हो ।

नेपालको संविधानको अनुसूची ४ मा उल्लेख भए अनुसार प्रदेश नं. ३ मा १३ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल १ सय १९ वटा स्थानीय सरकार छन् । यो प्रदेश अन्तर्गत पर्ने जिल्लाहरुमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं रहेका छन् ।

भौगोलिक आधारमा हेटौंडा सबै जिल्लाको लागि पायक नपर्ने भएकाले स्थायी राजधानी बनाउँदा भक्तपुर वा काभ्रे जिल्ला पायक पर्ने आम विश्लेषण रहेको छ ।

Logo