‘देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण’- शिक्षा मन्त्री पोखरेल

‘देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण’- शिक्षा मन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २२ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं किर्तिपुर निर्माण गर्न लागिएको प्रयोगशाला भवनको आइतबार बिहान शिलान्यास गर्दै देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण हुने बताएका हुन् ।

उनले विश्वविद्यालयको यो प्रयोगशालालाई नेपाल सरकारका विभिन्न विभागिय परामर्श केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । उनले प्रयोगशाला निर्माण भएपछि विश्वविद्यालयले विश्वका प्रतिष्ठित वैज्ञानिकहरुसँग सहकार्य गर्ने नेतृत्व लिनसक्ने विश्वास समेत व्यक्त गरे । त्यस्तै कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा केही गर्न सकिदैन भन्ने नेपाली वैज्ञानिकहरुको सोचलाई परिवर्तन गर्न सफल हुने समेत बताए।

भवन शिलान्यास भएपछि वैज्ञानिकहरूले विश्व विद्यालयसँग भएका सबै उपकरणहरू प्रयोगमा आउने बताएका छन् । वैज्ञानिक रामप्रसाद रेग्मीले भवन निर्माणपछि कृषि, जलवायु, हवाई दुर्घटना न्यूनिकरण, प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा अनुसन्धान गर्न सजिलो हुने बताए ।

त्रिभुवन विश्वविद्यालयको यो भवन दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । यो भवनको निर्माण कार्य एक वर्षभित्रमा सकिने वैज्ञानिक रेग्मीले जानकारी दिए।

Logo