काठमाडौँ महानगरले आफ्नो २५ औँ वार्षिकोत्सव मनाउने

काठमाडौँ महानगरले आफ्नो २५ औँ वार्षिकोत्सव मनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ं, २०७६ मंसिर २२ ।

काठमाडौँ महानगरले आफ्नो २५ औँ वार्षिकोत्सव विगतका वर्षमा जस्तै मनाउने तयारी गरेको छ । दिवसका अवसरमा यस वर्ष पनि आगामी २८ र २९ गते दुई दिन विभिन्न कार्यक्रम गर्ने भएको छ ।

दिवसको मूल समारोह समितिको अध्यक्षमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य रहनुभएको छ । दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, वाद्यवादन तथा प्रदर्शनी हुने कामपाले जनाएको छ । दिवसलाई व्यवस्थित गर्न वडा नं. १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा नं. ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमा डङ्गोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

संयोजक महर्जनका अनुसार यस वर्ष कार्यक्रम वसन्तपुरमा आयोजना हुनेछ । कार्यक्रममा कामपाले तयार पारेका सहरी पूर्वाधार, संस्कृति तथा सम्पदासँग सम्बन्धित तस्बीर प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछ । विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

महानगर घोषणा भएको यस वर्ष २५ वर्ष भएको छ । यस अवसरमा महानगर घोषणा गर्ने तत्कालीन प्रमुख पिएल सिंहलाई सम्मान गर्ने महानगरको योजना रहेको संयोजक महर्जनले जानकारी दिनुभयो । गएको वर्ष काठमाडौँका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Logo