काभ्रेको भुम्लु गाउँपालिकाका एक हजार परिवार ४४ वर्षदेखि लालपुर्जाविहीन

काभ्रेको भुम्लु गाउँपालिकाका एक हजार परिवार ४४ वर्षदेखि लालपुर्जाविहीन

केन्द्रबिन्दु
0
Shares

काभ्रे, २०७६ मंशिर २१ । 

जिल्लाको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४४ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा छन् । वि.सं.०३२ मा नापीका बेला साबिक पीपलटार गाविसका खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका हुन् ।

गाउँपालिका–७ का ३६५ र ८ का ५८९ पीडित परिवारसँग ४४ वर्षदेखि आफ्नो जमीनको लालपुर्जा नभएको ८ नं. का वडाध्यक्ष मोतिलाल तामाङले बताउनुभयो । उहाँका अनुसार लालपुर्जाविहीन भूकम्पपीडितसँग जग्गाको कागजात नभएको जनाइएपछि दुई वर्षपछि मात्रै सरकारी राहात अनुदान उपलब्ध गराइएको हो । “भूकम्पको २ वर्षपछि सरकारी आवास निर्माण राहत अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बनाउन थालेका थिए”, तामाङले भन्नुभयो ।

जग्गाधनीले जमीन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनीयरले दिएको निस्साको आधारमा गत विसं ०७४ को कात्तिकमा सरकारले आवास निर्माण अनुदान उपलब्ध गराएको हो । त्यसअघि परिचयपत्र, नागरिकता भए पनि जग्गाको लालपुर्जा नभएका कारण भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् । सरकारले लालपुर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै २०७५ भदौमा आवास निर्माण सम्बन्धी कार्यविधि बनाएपछि यहाँका एक हजार लालपुर्जाविहीनले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन पाएका हुन् ।

यसैबीच, भुम्लु गाउँपालिकाको ४४ वर्षदेखि लालपुर्जाविहीन दुईवटा वडाका करिब एक हजार परिवारलाई पुनः नापी गरी लालपुर्जा वितरण गर्न जिल्लास्थित नापी कार्यालयले शुक्रबार ८ नं वडास्थित भुम्लुमा फिल्ड कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको काभ्रेका प्रतिनिधिसभा सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार उक्त कार्यालयको उद्घाटन गर्नुभयो ।

सरकारको राष्ट्रिय नीति ‘छानो, नानो र मानो’ विहीन नागरिक नहोस् भन्ने उद्देश्य अन्तर्गत भुम्लुटारका ती दुई वडाको समस्या तत्कालै हल गर्न फिल्ड कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालीन एमालेको सरकारले ६० हजारलाई जग्गा वितरण गरेको थियो, अहिलेको सरकारले कोही पनि जमीनको मालिक बन्नेबाट वञ्चित गराउँदैन ।”

दुवै वडाको ७५ प्रतिशत नापी तथा लालपुर्जा निर्माणको काम सकिएपछि वितरणको काम शुरु गरिने नापीप्रमुख कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार वडा नं ७ मा पनि लगत्तै अर्को फिल्ड कार्यालय स्थापना गरी चार महिनाको समयमा उनीहरुलाई लालपुर्जा वितरणको काम सकिनेछ ।

भुम्लु गाउँपालिका–८ का चित्रबहादुर श्रेष्ठले लालपुर्जा वितरण गर्न गाउँमै फिल्ड कार्यालय स्थापना भएकामा खुशी व्यक्त गर्नुभयो । “हामी निकै खुशी भएका छौँ, अब जग्गा बेचबिखन तथा बैंकिङ लगायतका काम गर्न सजिलो हुने भयो”, उहाँले भन्नुभयो । स्थानीयवासी सन्तमाया तामाङले पनि आफ्नो जग्गाको लालपुर्जा पाउने भएपछि निकै खुशी भएको बताउनुभयो ।
रासस

Skip This
Skip This
Logo