लोडसेडिङ्ग हुन थालेको हो ? के भन्छ विद्युत प्राधिकरण ?

लोडसेडिङ्ग हुन थालेको हो ? के भन्छ विद्युत प्राधिकरण ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत वर्षको भन्दा यो वर्ष बिजुलीको माग झण्डै १०० मेगावाटले बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गत वर्षको यही समयमा बिजुलीको माग १ हजार ३ सय ४० मेगावाट मात्र रहेकोमा यो वर्ष बिजुलीको माग बढेर १ हजार ४ सय ३० मेगावाट पुगेको छ ।

चिसो बढ्दै गएकाले बिजुलीको माग अझै बढ्ने अनुमान विद्युत् प्राधिकरणको छ । विद्युत् प्राधिकरणका आयोजनाहरुबाट ५ सय १६ मेगावाट, निजी उत्पादकहरुबाट ३ सय २० मेगावाट आपूर्ति भएको छ । यस्तै भारतबाट ५ सय ९४ मेगावाट बिजुली आयात भइरहेको पनि प्राधिकरणले जनाएको छ । यसमा लोडसेडिङ हटाउन भारतबाट आयात हुने बिजुलीको प्रमुख भुमिका रहँदै आएको पनि प्राधिकरणले जनाएको छ । गत वर्षको यही समयमा प्राधिकरणका आयोजनाबाट ५ सय ८, निजी उत्पादन ३ सय ४ मेगावाट आपूर्ति भएको थियो । त्यसबेला भारतबाट ४९८ मेगावाट बिजुली आयात गरिएको थियो ।

देशभर विद्युतको माग बढेको प्राधिकरणको भनाई, विद्युतको आन्तरिक उत्पादन थपिन नसक्नु मुख्य समस्या रहेको उल्लेख ।

गत वर्षको भन्दा यो वर्ष भारतबाट बिजुली आयात १०० मेगाले बढेको देखिएको छ तर, माग बढेको बढै गर्ने र आन्तरिक उत्पादन थपिन नसक्दा माग र पूर्तिको सन्तुलन कायम गर्न विद्युत प्राधिकरणलाई हम्मे परेको छ । यसैक्रममा सोमबार मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको एउटा युनिटमा प्राविधिक समस्या आएर ३० मेगावाट बिजुली कम हुँदा प्रणालीमै असन्तुलन आई बिजुली आपूर्ति केही समय बन्द नै हुन पुग्यो ।

यि विविध पक्ष हुँदाहुँदै पनि गत वर्षको भन्दा यो वर्ष बिजुलीको माग बढेको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । तथापि, माग बढे पनि व्यवस्थापनका लागि प्राधिकरण लागि परिरहेको शाक्यको भनाई छ । पछिल्लो समय उपत्यकासहित देशका विभिन्न स्थानमा विद्युत् कटौति भइरहँदा उपभोक्ताको गुनासो बढ्दै गएको छ भने, विद्युत् प्राधिकरण स्वयंले लोडसेडिङको रणनीति तय गर्दै गएको भन्दै जनआक्रोश पनि बढिरहेको छ । तर, प्राधिकरणले भने लोडसेडिङ नभएर फिडरमा हिटर जडान बढ्न थालेपछि ओभरलोडका कारण समस्या उत्पन्न भएको जनाउँदै आएको छ ।

Logo