चिकित्सकसँग प्रधानमन्त्रीको आग्रह -‘सबै कुरा बोल्दिनुस्’

चिकित्सकसँग प्रधानमन्त्रीको आग्रह -‘सबै कुरा बोल्दिनुस्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आफ्नो स्वास्थ्यमा सुधार लगत्तै प्रधानमन्त्री केपी ओली जिज्ञासु हुन थालेका छन् । उपचार टोलीका संयोजक डा.अरुण सायमीसँग उनी सोध्छन्– ‘के छ खबर ? मिडियामा के–के आइरा’छन् ? ’ डा. सायमीले सामान्य ब्रिफिङ गर्छन्। प्रधानमन्त्री ओलीसँग उनको ठट्टा चल्छ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको पाँचौं तलामा स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्त्रीसँग सामान्य कुराकानी भइरहेका बेला बुधबार साँझ डा. सायमीलाई एक सञ्चारकर्मीको फोन आयो । ती सञ्चारकर्मीले आरोप लगाए, ‘तपाईंहरूले प्रधानमन्त्रीको स्वास्थ्यबारे कुरा लुकाउनु भयो।’

डा. सायमीले सबै कुरा सार्वजनिक भएको स्पष्ट पार्दै आरोपको प्रतिवाद गरे। दुई जनाको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरा बोल्दिनुस् । जे भइरहेको छ, जवाफ दिनुस्।’

प्रधानमन्त्रीले बिहीबार शुभचिन्तकलाई ट्विटरबाट धन्यवाद दिए। ‘बितेका दुई दिन यता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यति बेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्य स्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य र उपचार प्रक्रियाबारे जानकारी दिन चिकित्सकले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन् । उपचार टोलीका संयोजक डा. सायमी, निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, वरिष्ठ सर्जन डा. रमेशसिंह भण्डारी लगायतले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिनेछन्।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo