काठमाडौं ।
रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ ।विदेशमा उद्योग, व्यवसाय सुचारु भए पनि लामो समयसम्म मागपत्र प्रमाणीकरण नभएकै कारण नेपाली जान नपाएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । खाडी मुलुकहरुमा कतारबाहेक अन्य मुलुकमा मागपत्र प्रमाणीकरण भएको छैन ।
यसैबीच, कोरोनाको जाेखिम देखापरेको भन्दै खाडीका केही मुलुक र अन्य मुलुकले पनि अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्ग आवागमन स्थगन गरेको बताएसँगै रोजगारीमा थप अन्योल हुने देखिएको हो । कतारमा जाने कामदारको हकमा पनि १४ दिन क्वारेन्टाइनमा आफनै खर्चमा बस्नुपर्ने नियमले कामदारलाई रोजगारीको लागि कतार पठाउन गाह्राे भएको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल बताउँछन्।
कतार जाने कामदारले क्वारेन्टाइनमा बस्नको लागि १४ सय कतारी रियल खर्च गर्नुपर्ने सचिव भुर्तेल बताउँछन् । रोजगारदाताले क्वारेन्टाइन खर्च नदिने भएकाले कामदार आफैं नै खर्चको व्यवस्था गर्नुपर्ने भएकाले कतार जान समस्या देखापरेको उनले बताए ।
मागपत्र प्रमाणीकरणको विषयमा परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लाई मागपत्र प्रमाणीकरण खोलिदिन आग्रह गरे पनि मागपत्र प्रमाणीकरण नभएकाले नेपालमा आउने श्रमिकको माग भारत लगायत अन्य देशमा जाने खतरा रहेको वैदेशिक रोजगार व्यवसायी भुर्तेल बताउँछन् ।
वैदेशिक रोजगारीको लागि धेरै नेपाली श्रमिक जाने मुलुक मलेशिया, साउदी अरब, यूएईमा नयाँ कामदार जाने प्रक्रिया ठप्पै जस्तै रहेको उनको भनाइ छ । थोरै मात्रामा मागपत्र भएको यूरोपका देशमा पनि केही मागपत्र आए पनि कोरोनाको कारण जोखिम बढेको व्यवसायी बताउँछन् ।
अन्य यूरोपका विभिन्न देशमा दोस्रो चरणमा कोरोनाको संक्रमण देखिएकाले मागपत्र ल्याउन नसकिएको यूरोपमा श्रमिक पठाउने व्यवसायी बताउँछन् । यूरोपका केही देशमा फेरि लकडाउन हुन थालेकाले पनि वैदेशिक रोजगारीको लागि उक्त मुलुकमा अन्योल रहेको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरे पनि विदेशमा रहेको नेपाली राजदूतावासले कामदारको मागपत्र प्रमाणीकरण गरेका छैनन् । नेपालीका रोजगारीका गन्तव्य मुलुकमा अझै कोरोनाको जोखिम रहेको र हतार गरेर श्रमिक पठाउँदा अलपत्र पर्ने समस्या आउने जोखिमलाई मध्यनजर गरेर हतारमा मागपत्र प्रमाणीकरण नगरेको विदेशमा रहेका दूतावासहरु बताउँछन् ।
सरकारले मागपत्र प्रमाणीकरणको गर्ने व्यवस्था मिलाए ७० हजार श्रमिकको माग आउने सचिव भुर्तेल बताउँछन् । विदेशमा रोजगारदाताले कामदार आवश्यक भएको बताए पनि विदेशमा रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण नगर्दा रोजगारीमा जाने कामदार जान नपाउने र लामो समयसम्म कोरोनाले मारमा परेका वैदेशिक व्यवसायीहरु समेत ठूलो मारमा परेको व्यवसायीहरु बताउँछन् ।
रोजगारीको लागि विदेश जानको लागि नेपाली श्रमिकहरु ठूलो मात्रामा म्यानपावर कम्पनी आउने गरेको र मागपत्र प्रमाणीकरण नभएका कारण त्यत्तिकै फर्कने गरेको व्यवसायी बताउँछन् । तर यता, सरकारले हिजोको जस्तै गरेर आजको अवस्थामा पनि जुनसुकै मुलुकमा कामदार पठाउन व्यवसायीलाई दिन नहुने वैदेशिक रोजगारका जानकारको भनाइ छ ।
श्रम मन्त्रालयले एउटा मापदण्ड बनाएर कामदार पठाउने वातारण बनाउन सके देश र कामदारको लागि फाइदा हुने वैदेशिक रोजगार विज्ञहरु बताउँछन् । वैदेशिक रोजगारीमा जाने कामदारको सबै सुरक्षामा ध्यान दिएर उसको सबै कुराको ग्यारेण्टी गरेर कामदार पठाउन रोजगार विज्ञहरुको जोड छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई जानुभन्दा अघि विदेशमा पहिलाको जस्तो सजिलो अवस्था छैन ।गाेरखापत्रबाट





























प्रतिक्रिया