जन्ती बस दुर्घटनामा एक जनाको मृत्यु, ४० घाइते

जन्ती बस दुर्घटनामा एक जनाको मृत्यु, ४० घाइते

केन्द्रबिन्दु
0
Shares

धादिङ,

पृथ्वी राजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नं. को जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

यता भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नं.को ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो । पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना बिहान ५ः५४ बजे भएको हो ।

Logo