बाँके,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी पाँच वर्षभित्र नेपालगञ्ज विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाइने बताउनु भएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २८ औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न नेपालगञ्ज विमानस्थलमा पाँच वर्षमा १५ अर्ब बजेट खर्च गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
मन्त्री भट्टराइले सुविधा सम्पन्न बनाएर यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि मन्त्रालयले कार्ययोजना अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडानका लागि हामी प्रतिबद्ध छौँ, तर हाम्रो चाहानाले मात्रै सम्भव हुँदैन । यसका लागि पहल भइरहेको छ ।”
“भारतीय उड्डयन प्राधिकरणसँग यस विषयमा नेपालगञ्ज–लखनउ र नेपालगञ्ज–नयाँदिल्ली उडानका लागि छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “दुई देशको आपसी सहमतिका आधारमा हवाई रुट निर्धारण हुन्छ । हामीले नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट उडानको अनुमति मागिरहेका छौँ । भारतीय पक्ष यसमा केही सकारात्मक देखिएको छ ।”
मन्त्री भट्टराइले भारतीय उड्डयन प्राधिकरणसँग कूटनीतिक पहल भइरहेकाले यस विषयले छिट्टै सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । “अन्तर्राष्ट्रिय उडानका लागि हामीसँग पनि भन्सार, राजस्व, सुरक्षा लगायतका कार्यालय थप गर्नुपर्छ । हामीले हाम्रोतर्फबाट यी कामलाई पूर्णता दिनुछ । यसले अन्तर्राष्ट्रिय उडानमा थप सहजता ल्याउनेछ”, उहाँले भन्नुभयो ।
मन्त्री भट्टराइले नेपालगञ्ज पश्चिम नेपालको पर्यटन ट्रान्जिट रहेको भन्दै अन्तर प्रदेश हवाई उडानका लागि नेपाली निजी विमान कम्पनीका प्रतिनिधिसँग पनि छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा प्रदेश–प्रदेशबीच पनि आन्तरिक उडानका लागि पहल भइरहेको छ । यसले एकापसको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।”
नेपाली वायुसेवा कम्पनीले लिइरहेको दोहोरो भाडादरको समेत अन्त्य गरिने मन्त्री भट्टराईले बताउनुभयो । “निजी विमान कम्पनीले लिइरहेको दोहोरो भाडादर हटाउने विषयमा छलफल भइरहेको छ । हामीले विमान सञ्चालक कम्पनीसँग पटकपटक छलफल गरिसकेका छौँ । यसमा हामी केही सहमति नजिक पनि छौँ, सहमतिमै यसलाई हटाउँछौँ”, उहाँले भन्नुभयो ।
मन्त्री भट्टराईले नेपालगञ्जबाट पोखरा, भैरहवा, विराटनगर लगायतका ठूला शहरमा उडान थप गर्नका लागि पनि छलफल भइरहेको छ । “निजी कम्पनीसँग आन्तरिक उडान थप गर्ने विषयमा छलफल भइरहेको छ । यसमा सरकारको तर्फबाट दिनुपर्ने निश्चित छुट हामी दिन्छौँ, विमान कम्पनी सञ्चालक सकारात्मक हुनुपर्छ”, उहाँले भन्नुभयो ।
‘प्रदेश राजधानी फिर्ता हुँदैन’
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको कार्यक्रममा प्रदेश राजधानीका विषयमा वक्ताबाट गुनासो आएपछि मन्त्री भट्टराईले तत्काल राजधानी फिर्ता नहुने बताउनुभयो । “हाम्रा उत्तेजना र आवेशले राजधानी फिर्ता हुन सक्दैन”, मन्त्री भट्टराईले भन्नुभयो, “हिजोका हाम्रा सोचाइ र उत्तेजनाका कारण नेपालगञ्जले राजधानी गुमाएको हो । अब फिर्ता हुन सक्दैन ।”
मन्त्री भट्टराईले राजधानी नभए पनि नेपालगञ्ज शहर मृत होइन जीवित शहरकैरुपमा अघि बढेको बताउनुभयो । “नेपालगञ्ज मृत होइन जीवित शहर हो, पर्यटकीय ट्रान्जिट हो, औद्योगिक नगरी हो । राजधानी नभए पनि राजधानीसरह यसको विकास हुन्छ र भइरहनेछ”, मन्त्री भट्टराईले भन्नुभयो, “हामी हिजोका सोचाइबाट मुक्त भएर अघि बढौँ । यहाँ धेरै सम्भावना छन् ।”
‘सुन्दर गन्तव्य जोड्ने स्वर्ग नेपालगञ्ज’
मन्त्री भट्टराइले नेपालगञ्ज पश्चिम नेपालका सुन्दर गन्तव्य जोड्ने स्वर्ग भएको बताउनुभयो । भ्रमण वर्ष आउन केही समय मात्रै बाँकी रहेकाले यसलाई सफल बनाउन यहाँका उद्योगी व्यवसायीले सरकारलाई पूर्ण सहयोग गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “भ्रमण वर्ष आइसक्यो, पर्यटनको ट्रान्जिट नेपालगञ्जका उद्योगी व्यवसायीले सरकारलाई सकेजति सहयोग गर्नुस् ।”
उहाँले पश्चिम नेपालका सुन्दर पर्यटकीयस्थल मानसरोवर, रारा, से–फेक्सुण्डो, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न र कर्णाली लगायतका नदीमा ¥याफ्टिङ गर्न, अन्य पर्यटकीय क्षेत्रको घुमफिरका लागि नेपालगञ्ज स्वर्गका रुपमा रहेको बताउनुभयो । “नेपालगञ्ज पर्यटकका लागि स्वर्गभूमि हो । पश्चिम नेपाल घुम्न यहीँ आउनुपर्छ”, उहाँले भन्नुभयो ।
नेपालगञ्जलाई पर्यटकीय र औद्योगिक शहरका रुपमा थप विस्तारका लागि सरकारले आफ्नोतर्फबाट गर्नसक्ने पहल र कामलाई तीव्रता दिने उहाँले बताउनुभयो । “प्रदेश राजधानी नपाए पनि नेपालगञ्ज पछि परेको छैन । यसमा यहाँका नागरिक आत्तिनु पर्ने, निराश हुनुपर्ने छैन”, उहाँले भन्नुभयो, “नेपालगञ्ज पर्यटकीय र औद्योगिक शहरकैरुपमा विकास हुन्छ ।”
‘स्थायी सरकार अवसर’
मन्त्री भट्टराईले दुई तिहाइको स्थायी सरकार मुलुककै समृद्धिका लागि अवसर भएको बताउनुभयो । उहाँले स्थायी सरकार भएकाले मुलुकमा समृद्धिका धेरै काम हुने र आगामी निर्वाचनमा पनि कम्युनिष्टकै सरकार बन्ने भएकाले उद्योगी व्यवसायीले कसैलाई चन्दा दिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब देशमा कम्युनिष्टकै सरकार चल्छ । हामी दया मायाले अरुलाई सरकार चलाउन दिनेवाला छैनौँ । तर त्यसका लागि सरकारले नागरिकप्रति जवाफदेही भएर काम गर्नुपर्छ । हामी अब चन्दा माग्दैनौँ, राम्रो काम गरेर भोट मात्रै माग्छौँ । अब हामीलाई चन्दा होइन भोटमात्रै दिनुहोला । कसैले चन्दा माग्यो भने सोझै इन्कार गरिदिनुस् ।”
व्यवसायीमैत्री सरकार बनोस् : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले व्यवसायिकका समस्या समाधानका लागि सरकार व्यवसायीमैत्री बन्नुपर्ने बताउनु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २८ औँ साधारणसभाको यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष राणाले सरकारले व्यवसायीका समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।
रासस





























प्रतिक्रिया