नेपालगंज,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागिपरेको बताएका छन् । शनिबार नेपालगन्ज म्याराथनको पाँचौं संस्करण उद्घाटन गर्दै भट्टराईले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई राष्ट्रव्यापी बनाउँदै प्राप्त उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गरे ।
उनले सो अवसरमा सरकारको नारालाई देशविदेश पुर्याउन नेपालगन्ज म्याराथनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिए।
शान्ति, सद्भाव र एकताका लागि नेपालगन्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै उनले स्वास्थ्यका लागि खेलकुदको आवश्यकतामा जोड दिए । नेपालगन्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगन्ज आएको बताउँदै मन्त्री भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दाबी गरे।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा लगायतले नेपालगन्ज म्याराथनले नेपालगन्जलाई चिनाउन सहयोग गरेको धारणा राखे । नेपालगन्ज म्याराथनको पाँचौ संस्करणमा २ हजार ७ सय जनाभन्दा बढी सहभागी छन्।
नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच ०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगन्ज म्याराथनको सुरुआत गरिएको क्रियटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।
उनका अनुसार म्याराथनमा प्रथम हुनेलाई ६५ हजार, दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ।































प्रतिक्रिया