सिरहा,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ ।
आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
घुस लिएको अभियोगमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत रमेशकुमार खड्काविरुद्ध शुक्रबारविशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटकपटक मोलमोलाइ गरी ६० हजार घुस माग गरेको आरोप लागेको छ । सौदाबाजी गरी खड्काले रकम माग गरेकै अभियोगमा केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।
त्यस्तै शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवलमा कार्यरत सव इञ्जिनीयर मन्दिप पौडेल र जेसिभी चालक विक्रम बस्नेतविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको छ ।
विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई भुक्तानी दिने कार्य सम्पन्न भएपछि अन्तिम किस्ता रकम निकासा गर्ने सिलसिलामा पौडेलले एक लाख २० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले सव इञ्जिनीयर पौडेलको भरियाका रुपमा घुस रकम लिन गएका बस्नेतलाई समेत दोषीको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।





























प्रतिक्रिया