उपनिर्वाचन ०७६ : मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई जिताउनुपर्छ – नेता कोइराला

उपनिर्वाचन ०७६ : मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई जिताउनुपर्छ – नेता कोइराला

केन्द्रबिन्दु
0
Shares

कास्की,

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताउनुभएको छ । पोखरा–९ मा शुक्रबार काँग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र सङ्घीयता मास्न सरकार उद्धत रहेको उल्लेख गर्नुभयो ।

विकास निर्माणबारे नेता कोइरालाले भन्नुभयो, “कास्की क्षेत्र नं २ अन्तर्गत केही वडामा काँग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि काँग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि काँग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ ।”

अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गर्नुभयो । राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवारभन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेकाले यी गुण उम्मेदवार पौडेलमा रहेको उहाँको भनाइ थियो ।

पोखरा–९ का वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, रामराज लामिछाने र शिवराज बाँस्तोला लगायतले खेमराज पौडेललाई जिताउनुपर्ने विषयमा जोड दिनुभएको थियो ।

तेस्रो चरणका कार्यक्रम शुरु

काँग्रेस कास्कीको चुनाव प्रचार अभियान आजदेखि तेस्रो चरणमा प्रवेश गरेको छ । काँग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई तीन चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो । पहिलो चरण पाँच दिन, दोस्रो र तेस्रो चरण सात/सात दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको काँग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो । तेस्रो चरणका सात दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की काँग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।

उहाँले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिबद्धता जनतासामु लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्ने कार्यको गोप्यरूपमा अनुगमन र खबरदारी गर्ने बताउनुभयो । “पूरै पार्टी पङ्क्ति यो चुनावमा परिचालन भएको छ, जुन ठाउँमा जो आवश्यक पर्छ सोही अनुरुप रणनीति तयारी गरेका छौँ”, सभापति केसीले भन्नुभयो, “अबको सात दिन मतदाता केन्द्रित हुनेछौँ । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने विरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौँ ।”

Logo