विष्णु नेपाल र शरद शर्मा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा केही नयाँ र अधिकांश पुराना अनुहारका मन्त्री परेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार राति केही मन्त्रीलाई हटाउँदै छैटौं मन्त्रिमण्डलको पुनर्गठन गरेका छन् ।
विसं २०७५ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसपछि पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गरेका हुन् । उनले विसं २०७५ को फागुन १५ र चैत ३ तथा २०७६ सालको जेठ १८, साउन १५, साउन १८ र मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । अहिले गरिएको पुनर्गठित मन्त्रिपरिषदमा छ जना नयाँ मन्त्री र तीन राज्यमन्त्रीलाई नयाँ जिम्मेवारी तोकिएको छ भने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकापसमा विभागीय मन्त्रालय हेरफेर गरिएको छ । यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्नेछन् ।
नयाँ मन्त्रीमा पुराना अनुहारका घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी र रामेश्वरराय यादव रहेका छन् । भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासन र राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।
पुनर्गठित मन्त्रिपरिषदमा पहिलो पटक वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङले मन्त्रीको जिम्मेवारी पाएका छन् । नेम्वाङ भौतिक पूर्वधार तथा यातायातमन्त्री र गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन् । राज्यमन्त्रीको जिम्मेवारी पाएका मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर नयाँ अनुहार हुन् ।
पाँचथरबाट निर्वाचित भएका नेम्वाङ तीन पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् । यस्तै २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजय भएका गुरुङ दोलखाबाट निर्वाचित भएका हुन् ।
यसैगरी कृषिमन्त्री बनेका युवा नेता भुसाल पार्टीभित्र प्रखर बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन् । माक्र्सवादी दर्शनशास्त्रीका रूपमा परिचित भुसाल सरकारलाई आलोचनात्मक सुझाव दिने नेताका रूपमा समेत चिनिन्छन् । यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिमण्डलमा बिना विभागीयमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य भुसाल रुपन्देही–३ बाट निर्वाचित भएका हुन् । भुसाल २०५१ सालको उपनिर्वाचनमा समेत प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
नयाँ मन्त्रिमण्डलमा उद्योगमन्त्री बनेका भट्ट तेस्रो पटक मन्त्री भएका हुन् । नेकपाको सूदूरपश्चिम प्रदेशको सहइञ्चार्जसमेत भएका भट्ट कैलाली–५ बाट निर्वाचित भएका हुन् । यसअघि उनी श्रम तथा यातायात र आपूर्तिमन्त्री भइसकेका छन् । भट्ट २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका हुन् ।
नवनियुक्त मन्त्री त्रिपाठीले नेकपाको चुनाव चिह्न सूर्यबाट नवलपरासी–५ बाट निर्वाचनमा विजयी हासिल गरेका हुन् । पटक–पटक मन्त्री र तत्कालीन लेखासमितिको सभापतिको जिम्मेवारी त्रिपाठीले निर्वाह गरिसकेका छन् ।
तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ बाट विजय हासिल गरेका राय पनि यसअघि वन तथा वातावरणमन्त्री भइसकेका छन् । उनी सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) हुँदै गत २०७४ सालमा तत्कालीन नेकपा (माओवादी–केन्द्र)मा प्रवेश गरी निर्वाचन जितेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्र विभागका प्रमुख प्रा डा रामकृष्ण तिवारीले मन्त्रीहरुको कार्यसम्पादन राम्रो नभएर नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको बताए । “अहिलेको दुई तिहाइको सरकार भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धितर्फ लैजाने प्रयत्न गरेका छन्”, उनले भने, “तर प्रधानमन्त्रीको गतिमा केही मन्त्रीले काम गर्न सकेनन् । त्यसैले आफूसँग काम गर्ने खालका मान्छे ल्याउनका लागि मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।” उनले अन्य मुलुकमा पनि प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो समूहमा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पनि काम गर्न नसक्ने मन्त्रीलाई हटाएको बताए ।
राजनीतिक स्थायित्व भएकाले मुलुकलाई विकास निर्माणमा लैजानका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेको उनको भनाइ थियो । पुनर्गठित मन्त्रिमण्डलको राज्यमन्त्रीमा सबै नयाँ अनुहारका छन् । मानन्धर काठमाडौँ–७ बाट निर्वाचित भएका हुन् । उद्योग व्यवसायी दुगड समानुपातिकबाट सांसद भएका हुन् । यस्तै स्वास्थ्य राज्यमन्त्री रावत सुर्खेत–२ बाट निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री ओलीले जिम्मेबारीबाट मुक्त गरेका मन्त्रीहरूमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव छन् ।
त्यसैगरी प्रधानमन्त्रीले राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त गरेका छन् । केही दिन अघिदेखि सञ्चारमाध्यममा मन्त्रिमण्डल पुनर्गठन हुने समाचार बाहिर आइरहेका थिए ।
बुधबार नेकपाको बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएपछि साँझ पुनर्गठन गरिएको हो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिमा नै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । यसअघि प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा पनि पुनर्गठन गरेका थिए । रासस





























प्रतिक्रिया