डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ । सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि अहिले सिलगढीदेखि ओखरबोटहुँदै ओसाइल–बगलेक–झिग्राना जोड्ने सडकको निर्माण तथा कालोपत्रको काम तीव्र गतिमा भइरहेको छ ।
प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी– झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न ४० करोड रुपैयाँ ठेक्का सम्झौता गरेर निर्माणकार्य तीव्र गतिमा अगाडि बढिरहेको उक्त सडक हेर्ने जिम्मा पाएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, “हामीले ठेक्का सम्झौता गरेर काम अगाडि बढाएका छौँ, चाँडै नै कालोपत्रको काम सक्ने छौँ ।”

सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्स्ट्रक्सन र सिलगढी–मेल्लेक सडकको राजेन्द्र तथा पिएस जेभीले काम गरिरहेका छन् । प्रदेशको प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि स्थानीयवासीमा खुशी छाएको छ ।
खप्तड जाने सडक कालोपत्र भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकै सहज हुने होटल व्यवसायी सङ्घका अध्यक्ष दीपकबहादुर खड्काले बताए । उनले भने, “सडक पक्की नभएका कारण हामीले सोचेअनुसार पर्यटक भित्र्याउन सकेका थिएनौँ, सडक पक्की भएपछि हामी उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन सक्नेछौँ ।” रासस





























प्रतिक्रिया