माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजना सोमबार उद्घाटन गरिएको छ। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित वार रुमबाट रिमोट बटन थिचेर उद्घाटन गरेका हुन् ।
उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो ।
आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। आयोजनाले स्विचयार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्रि बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको यो आयोजनामा चिनिया एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको छ ।
आयोजना वर्षको साढे आठ महिना पूर्ण क्षमता (६० मेगावाट) मा र हिउँदमा करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलित र विश्वसनीय बनाउन सहयाेग पुग्ने अपेक्षा गरिएको छ । २०६७ साल जेठ १४ गते चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएपनि झण्डै १० वर्षपछि आयोजना निर्माण भएको हो ।





























प्रतिक्रिया