हङकङलाई हराउँदै नेपालले बंगलादेशमा भइरहेको इमर्जिङ टिम्स एसिया कपमा पहिलो जित हात पारेको छ ।
आज भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराएको हो ।
नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङले ४५.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।
हंगकंगले ४७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । तर किन्चित शाह र आरोन मोहम्मद अर्सदले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गर्दै हंगकंगको पारी उकासे । शाह ५३ र अर्सद २६ रनमा आउट भए ।
त्यस्तै अन्तिम विकेटका लागि इशान नवाज र रौनक कपुरले ४२ रनको साझेदारी गर्दै टिमलाई फराकिलो हारबाट जोगाए । नवाज ४४ रनमा अविजित रहे ।
नेपालका लागि अविनाश बोहोरा र करण केसीले ३/३ तथा सुसन भारीले २ विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले शरद भेषावकरको उत्कृष्ट पारीको मद्दतमा हंगकंगसामु २१८ रनको लक्ष्य खडा गर्न सफल भयो ।
नेपालको पनि सुरुवात भने निकै खराब थियो । कप्तान ज्ञानेन्द्र मल्ल फेरि एक पटक शून्यमै आउट भए । कुशल मल्ल पनि मात्र १ रनमा आउट भए, जति बेला नेपालको स्कोर मात्र ३ रन थियो ।
तेस्रो नम्बरमा ब्याटिंग गर्न ओर्लेका शरद भेषावकरले नेपालको पारी सम्हाले । उनले तेस्रो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर ८३ रनको साझेदारी गरे । दीपेन्द्र ३७ रनमा आउट भएपछि आरिफ शेखसँग ७४ रनको साझेदारी गरे ।
आरिफ ४२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १६० रन पुगेको थियो । पवन शरार्फले खाता नै खोल्न सकेनन् । विनोद भण्डारी १५, करण केसी ७ र सुन भारी ६ रनमा आउट भए ।
अन्तिम बलमा ललितनारायण राजवंशीको विकेट गएपछि नेपाल अलआउट भयो । लगातार क्रिकेटमा टिकिरहेका शरद अन्तिम बलअघि ८९ रनमा आउट भए ।































प्रतिक्रिया