काठमाडौं ।
यस वर्ष धान उत्पादन बढे पनि आत्मनिर्भर हुन अझै १० लाख टन अपुग रहेको देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो । उत्पादन ७० हजार ८ सय ३२ टनले बढे पनि आयात प्रशस्त छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामै ३ लाख ४६ हजार १ सय ६१ टन आयात भएको भन्सार विभागको तथ्यांक छ । चामल मुख्यतः भारतबाट आयात हुन्छ । मन्त्रालयले भने उपभोक्ताको आयस्तर बढेकाले मीठोमसिनो खाने बानीले बर्सेनि आयात बढेको दाबी गर्छ । उत्पादन र आयातको तथ्यांकले धानमा आत्मनिर्भर हुन अझै समय लाग्ने देखाउँछ । वार्षिक १० लाख टन अपुग हुने मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी बताउँछन् । ‘जनसंख्या बढेसँगै चामलको माग पनि बढ्दो छ । तीन वर्ष यताको तथ्यांक अनुसार वार्षिक १० लाख टन आयात हुन्छ,’ उनले भने, ‘यो वर्ष पनि अपुग नै छ । १० लाख टन आयात हुने आकलन गरेका छौं ।’
धानको उत्पादन, उत्पादकत्व बढाउन सकिन्छ । तर त्यसका लागि समयमै मल, बीउ र पर्याप्त मात्रामा सिँचाइ आवश्यक रहेको जानकारहरू बताउँछन् । तर सिँचाइको अवस्था उचित छैन । मलको अवस्था पनि नाजुक छ । किसानले रोपाइँकै मुखमा मल अभाव झेल्दै आएका छन् । यो वर्ष धानको उत्पादन बढ्नुको मुख्य कारण मनसुन समयमै सक्रिय भएको र बीउ हो । यो वर्ष बीउ अभाव भएन ।
‘पूरै सिजन पानी पर्यो । पानीका कारण समयमै रोपाइँ भयो,’ मन्त्रालयका सहसचिव हरिबहादुर केसीले भने, ‘मल सहज भए उत्पादन धेरै बढ्थ्यो ।’ यद्यपि उत्पादन बढ्नुमा मलसँगै धेरै तत्त्व आवश्यक रहेको उनले बताए । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा मनसुन जेठ ३० बाट सुरु भएको हो । गत वर्षको तुलनामा औसत ४१४ मिमि अर्थात् ३१ प्रतिशत बढी वर्षा भएको थियो । जब कि गत वर्ष असार ५ मा मनसुन भित्रिएको थियो ।
यी दुईबाहेक गत वर्षको तुलनामा रोपाइँको क्षेत्रफल १४ हजार ५ सय ५९ हेक्टर वृद्धि भयो । सरकारले कोभिड–१९ संक्रमण फैलिन रोक्न लकडाउन गरेसँगै सहरबाट सर्वसाधारण गाउँ फर्किए । बाँझो जमिन रोपाइँ गर्ने अभियान पनि चल्यो । सर्वसाधारण गाउँ गएकै कारण श्रमिकको अभाव भएन । फलस्वरूप रोपाइँ हुने क्षेत्रफल बढेको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए ।कान्तिपुरबाट





























प्रतिक्रिया