धनगढी,
राष्ट्रिय वाणिज्य बैंकले सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गरेको छ । वाणिज्य बैंकको प्रदेश कार्यालय प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । देश संघीय संरचना अनुरुप वाणिज्य बैंकले आफ्ना संरचनाहरू प्रदेशतहमा स्थापना गरिरहेको छ ।
यसअघि सरकारको पूर्ण स्वामित्व भएको वाणिज्य बैंकका २ सय ३८ शाखा कार्यालयहरूबाट आफ्ना सेवाहरू प्रवाह गर्दै आएको वाणिज्य बैंकको नेपालगन्ज कार्यालयले तीनवटा प्रदेशमा सेवा प्रदान गरिरहेको थियो । प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एउटै कार्यालयले सेवा प्रदान गरिरहेको बेला सुदूरपश्चिम प्रदेश कार्यालय छुट्टै स्थापना गरिएको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख रणबहादुर चन्दले बताए ।
वाणिज्य बैंकको प्रदेश कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने सेवामा गति आउनुपर्ने बताए । उनले अन्य निजी बैंकहरूले प्रदान गर्ने सेवाभन्दा सरकारी बैंकले प्रदान गर्ने सेवामा ढिलासुस्ती, लापरबाही हुने गरेको बताए । उनले वाणिज्य बैंकको सेवालाई नियमन गर्न प्रदेश कार्यालयले कदम चाल्नुपर्ने धारणा राखे ।
वाणिज्य बैंकलाई व्यावसायिक क्षेत्रमा लगानी बढाउन मुख्यमन्त्री भट्टले सुझाव दिए । सुखी नेपाली समृद्ध नेपाल भन्ने सरकारको नारालाई सफल बनाउन बैंकहरूबाट किसान, व्यवसायी र उद्यमीलाई सस्तो ब्याजदरमा ऋण दिनुपर्ने उनले बताए ।





























प्रतिक्रिया