विप्लवका काभ्रे सक्रेटरीविरुद्ध टावर आगजनीको आरोप

विप्लवका काभ्रे सक्रेटरीविरुद्ध टावर आगजनीको आरोप

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ (माओवादी) का काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ ।

थोकरलाई ०७५ चैत १० गते काभ्रेको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्) टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो । ‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान गर्दैछौँ’, जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भन्नुभयो ।

बत्तीस वर्षीया थोकरलाई कात्तिक ६ गते राति पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै प्रहरीले पक्राउ गरेको थियो । गत असोज अन्तिम साता मात्रै विप्लव माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै थोकरलाई केही दिनपछि गिरफ्तार गरिएको हो । प्रहरीले थोकरको अनुसन्धान नसकिएको जनाउँदै जिल्ला अदालतबाट दुईपटक म्याद थप गरेको छ ।

श्रेष्ठ दम्पतिको हत्या छानविन गर्न सिआइबीको टोली

यसैबीच नमोबुद्ध नपा–८ दाप्चामा भएको श्रेष्ठ दम्पत्तिको हत्याको छानविन गर्न आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली खटाइएको छ । हत्याको एक हप्तापछि ब्युरोका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा पाँच जनाको टोली अनुसन्धानमा खटाइएको हो । गत सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मङ्गलबार बिहान ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी रुकुमायाको शव क्षतविक्षत अवस्थामा घरमै भेटिएको थियो ।

घटनापछि अनुसन्धानका क्रममा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । हाल तीन जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य तारेखमा छुटेका छन्, थप अनुसन्धानमा मद्दत गर्न सिआइबी टोली घटनास्थल पुगेको छ ।”

Logo