- उमेश रेग्मी –
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा भव्य र सभ्य रूपमा मनाउने कार्यक्रम अघि सारेको छ । यस अवधिमा नेपालमा करिब २० लाख पर्यटक ल्याउने कुरा पनि सरकारले घोषण गरेसँगै केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरू कार्यक्रम सफल बनाउन लागिपरेका छन् ।

भ्रमण वर्षको मुख्य उद्देश्य भनेको विदेशी पर्यटक ल्याउनु र नेपालका आन्तरिक पर्यटनलाई टेवा दिनु पनि हो । पर्यटन वर्ष सफल पार्नका लागि स्वदेश तथा विदेशमा समेत प्रचार प्रसार तथा अन्य अभियान थालिएको छ । देशमा संख्यात्मकभन्दा गुणात्मक पर्यटक भित्र्याउने लक्ष्य पनि रहेको छ । यो नेपाल र नेपालीको प्रतिष्ठासँग गाँसिएको विषय पनि हो । जसरी भए पनि यस अभियानलाई सफल पारी नेपाललाई विदेशमा चिनाउने काम गर्नु पर्नेछ ।

नेपाल भ्रमण वर्ष सरकारका लागि तथा आम नेपालीका लागि चुनौतीसँगै अवसरको लागि उपयोग गर्नु पर्दछ । सरकारले लिएको बीस लाख पर्यटक भित्र्याउने लक्ष्य त्यति सहज भने देखिदैन । पर्यटकलाई आकर्षित गर्नका लागि र पर्यटकीय गन्तव्य पहिचान गर्नु पर्नेछ । ती अनेक गन्तव्यमध्ये पोखरा प्रमुख गन्तव्य हो ।
पोखरा आफैँमा सुन्दर शान्त र मनमोहक ठाउँ हो । यहाँ एकपटक मानिस आएपछि आफ्नो ठाउँ जानै बिर्सन्छन् । यहाँको प्राकृतिक सौन्दर्य, हिमाली मुस्कान अनि मानिसको न्यानो आतिथ्यले सबै हृदयलाई पुलकित बनाउँछ । पर्यटनको दिगो विकासका लागि आन्तरिक पर्याटनलाई उकास्नै पर्छ । आम नेपालीले पर्यटन बारे थाहा पाएर पहिला आफ्नौ देश घुम्नुपर्छ भन्ने भावना जगाउनका लागि पनि पोखराको महत्वपूर्ण योगदान रहेको छ ।
पोखरा मात्र त्यस्तो ठाउँ हो जहाँ हरेक नेपाली आउन चाहन्छन् भने देशमा आउने विदेशी पर्यटकमध्ये ९० प्रतिशत जति पोखरा र यसको आसपासमा नै रमाइरहेका हुन्छन् । पोखरालाई प्रकृतिको राजधानीसमेत भन्ने गरिन्छ ।

पोखरामा एकै समयमा विविध मौसम देख्न र हेर्न सकिन्छ । पोखरा नेपालको मध्य भागमा पर्छ र सहज यातायातको सुविधाले गर्दा तथा यहाँबाट नजिक अन्य धेरै पर्यटकीय गन्तव्य भएका कारण पनि धेरै स्वदेशी तथा विदेशीको आँखा पर्ने गरेको छ । यहाँबाट देखिने हिमाली सौन्दर्य, माछापुच्छ्रेको छाया फेवातालमा परेको दृश्य, अन्नपूर्ण पदयात्रा, तालैतालको सहर, रोमाञ्चक खेल प्याराग्लाइडिङ, आकाशमा चराजस्तै उड्ने सानो जहाज । सामान्यदेखि अति सुविधा सम्पन्न होटेल के छैन यहाँ ।
पर्यटन वर्ष २०२० को आरम्भ गर्ने पहिले ठाउँ नै पोखरा हो । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकले छुटाउनै नहुने ठाउँहरू यस प्रकार छन् :
फेवाताल

गण्डकी प्रदेश अन्तर्गत पोखरा र यसका आसपासका प्रमुख गन्तव्य स्थलमध्ये सबै पर्यटको पहिले रोजाइ हो फेवाताल । यो पोखराको केन्द्रविन्दु पनि हो । यहाँ आउने हरेक पर्यटक एकपटक फेवातामा गएर डुङ्गामा चढेर तालबाराहीको दर्शन गर्न चाहन्छ भने विदेशी पर्यटक फेवातामा डुङ्गामा बसेर घन्टौं ताल र त्यसका वरपरका दृश्यमा आफूलाई हराइरहेको हुन्छ । तालमा डुङ्गा खियाउँदै गर्दा पानीको छालमा ठोकिदै आएको हावाको स्पर्श अति आँखाले परको सराङ्कोटमाथि देखिएको माछापुच्छ्रेमा हराइरहन मन लाग्छ । यहाँ माछापुच्छ्रेको छाया तालमा देख्दा कसको पो मन नरममाउला र ? फेवातालको औसत गहिराइ ८.६ मिटर र अधिक गहिराइ २४ मिटरसम्म रहेको छ ।
सराङ्कोट
सराङ्कोटलाई पोखराको शिर भने पनि हुन्छ । यहाँबाट विहानको सूर्योदय तथा उत्तरतर्फका हिमालहरूलाई नियाल्ने केन्द्रका रूपमा पनि हेर्न सकिन्छ । पोखरा उपत्यकालाई यहाँबाट राम्रोसँग नियाल्न सकिन्छ । पोखरा आउने अधिकांश पर्यटको रोजाइमा पनि पर्दछ । बिहान पूर्वबाट उदाउने सूर्यलाई हेर्न सखारै मानिस आउने गर्दछन् । यसको उचाइ पाँच हजार पाँच सय फिट रहेको छ । हिँडेर गएमा २ घन्टा जति लाग्दछ । यहाँबाटै प्याराग्लाइडिङ उडान भरिन्छ र नजिकबाट यसलाई हेर्न पनि सकिन्छ । मानिसहरू चरा झैं आकाशमा कावा खाइरहेको देख्न सकिन्छ ।
पातले छाँगो
पोखराको अर्को रमणीय तथा घुम्नैपर्ने स्थान पातले छाँगो अर्थात डेविज फल्स पनि हो । यहाँ पानी जमिनको मुनिबाट गएर गुप्तेश्वर गुफामा निक्लिएको छ । वर्षायाममा यहाँको मनमोहक दृश्य हेर्दा लाग्छ यो त कुनै विदेशको ठाउँ हो । यहाँ पनि पोखरा पुग्ने हरेक पर्यटक एकपटक पु्ग्ने गर्दछन् । यो झरना लगभग ५०० फिटमाथिबाट जमिनभन्दा करिब १०० फिट तल खस्दछ ।
विश्व शान्तिस्तुप
पोखराको अर्को घुम्न पर्ने ठाँउ हो विश्व शान्तिस्तुप । पोखराको फेवाताल तथा पातले छाँगो हुँदै पुग्न सकिने शान्तिस्तुप पछिल्लो पटका धेरैको रोजाइमा पर्न थालेको छ । त्यहाँबाट देखिेने फेवाताको सुन्दर दृश्य तथा पोखराको सेरेफेरो अनि देखिने ठाउँको रूपमा यो रहेको छ । यसले पोखराको सुन्दरता मात्र बढाएको छैन पर्यटकाको घुमाइलाई पनि बढाएको छ । यहाँ शान्तिको प्रतीक सेतो गुम्बा रहेको छ । यसले सारालाई रिस राग त्यागेर शान्तिको बाटोमा लाग्न आग्रह गरेको छ ।
महेन्द्र गुफा तथा चमेरे गुफा
पोखरामा घुमेर घुमिनसकिने ठाउँहरू प्रशस्त रहेका छन् । महेन्द्रगुफा तथा चमेरे गुफा पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । यी गुफा प्रकृतिको सुन्दर उपहार हुन् । पोखरा महानगरपालिका बाटुले चौरमा अवस्थित यी गुफा मध्ये महेन्द्रगुफा १ सय २५ मिटर लामो छ । यसको विधिवत उद्घाटन २०१७ सालमा तत्कालीन राजा महेन्द्रले गरेका हुन् । यसबाट प्राप्त हुने आम्दानीले विद्यालय सञ्चालन गर्ने गरिएको छ । यसैको नजिक रहेको अर्को गुफा हो चमेरी गुफा, यसको लम्बाई करिब २५० मिटर रहेको छ भने यहाँ हजारौँ चमेरा रहेका छन् । यसले पनि पर्यटन वर्षमा पर्यटकको आकर्षण गर्न सक्दछ ।
विन्ध्यवासिनी मन्दिर
विन्ध्यवासिनी मन्दिर पोखरा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति कमाएको एक धार्मिक एवम् पर्यटकीय मन्दिर हो । यसको निर्माणको बारेमा यकिन तथ्याङ्क भने प्राप्त भएको छैन । यहाँ आउने हरेक स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बनेको छ । यहाँ दैनिक ३ देखि ४ सय जनासम्म दर्शनार्थी आउने गरेको पाइन्छ । यहाँ असहायहरूलाई सजिलो होस् भनेर लिफ्ट पनि सञ्चालनमा आएको छ । यहाँबाट उत्तरतर्फका अन्नपूर्ण पहिलो, दोस्रो, तेस्रो र चौथो हिमालका अतिरिक्त माछापुच्छ्रे हिमाल लगायतका हिमाल देख्न सकिन्छ । विन्ध्यवासिनी मन्दिर गुम्बज शैलीमा सेतो रङ्गको अष्टभुजाकार रहेको छ भने गजुरबाट तामाको श्रीवन्दी लत्रिएको छ । यस मन्दिरका वरपर अन्य मन्दिरहरू पनि रहेका छन् । यो मन्दिरले सारा पोखराको सौन्दर्य बढाएको छ ।

यसका अतिरिक्त पोखरावरपर अन्य रमणीय स्थल पनि छन् । महेन्द्रपुल, के आई सिँह पुल, अन्तर्राष्ट्रिय संङ्ग्रहालय आदि । यी ठाउँ वरपरका अतिरिक्त यहाँबाट अन्य पर्यटकीय स्थल जान पनि सकिन्छ ।































प्रतिक्रिया