काठमाडौं ।
नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षा अनुसार काम गर्न सफल भएको दावी गरेकी छिन् ।
आइतबार कानून मन्त्रालयबाट विदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको दावी गरकी हुन् । मौलिक हकसँग जोडिएका विषयमा आफूले पद बहाली गर्दा हस्ताक्षर गरे अनुसार नै अधिकांश ऐन र नियमावली निर्माणमा सफलता प्राप्त गरेको उनले बताइन् ।
मौलिक हकसँग जोडिएका १६ वटा ऐन बनाएकोमा १४ वटाको नियमावली बनाइसकेको र २ वटा बन्ने क्रममा रहेको बताइन् । यस्तै १२ वटा मस्यौदाका लागि सैद्धान्तिक सहमति दिएको पनि मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् । त्यसबाहेक २५ वटा विधेयक तथा अध्यादेशको मस्यौदा तर्जुमा गर्न पनि सैद्धान्तिक सहमति दिइएको बताइन् । नेपालको संविधानमा निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएको नक्सा प्रकाशित गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउनुलाई पनि आफ्नो उपलब्धी भएको बताइन् ।
तेजाब आक्रमणसँग जोडिएको अध्यदेश ल्याउन सफल हुँदा देशका सबै नागरिक खुशी भएको पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । जबरजस्ती करणी, यौनजन्य हिंसा लगायतका घटनामा कसुरदार ठहरिने अवस्था सम्म पुग्न नदिई मेलमिलाप गराउने प्रचलनलाई अन्त्य गर्न मेलमिलाप गराउने व्यक्तिलाई समेत कानूनी कारबाही गर्ने व्यवस्था गर्न सफल भएको पनि बताइन्। त्यसबाहेक संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनेगरी ऐन नियमहरु निर्माण गरिएको पनि उनले बताइन्।





























प्रतिक्रिया