राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा नेपाल संवतको शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा नेपाल संवतको शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

“नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवतले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल संवतको नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिद्वारा दीपावली र नेपाल संवतको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवतका अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

दीपावली र नेपाल संवतका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरुको महान् चाड शुभ–दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा हुँदैछ ।”

उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको छ ।”

महान् चाड शुभ–दीपावली र नेपालको मौलिक संवत् नेपाल संवत् नव वर्षले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने बताउँदै उहाँले सन्देशमा यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा एकाकार भएर अगाडि बढ्न हामी सबैलाई प्रेरणा दिउन् भन्ने कामना गर्दछु भन्नुभएको छ ।

नेपाल संवतले असमानताको खाडल पुर्ने प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । नेपाल संवत् ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “नेपाल संवतले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

नेपाल संवतका प्रवर्तक शङ्खधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

शङ्खधर शाख्वाले गरीबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो संवत् शुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “यसको शुरुवात जसरी विपन्नताविरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता र गरीबी विरुद्ध लड्न नेपाल संवतको नयाँ वर्षले मद्दत पु¥याओस ।”

“हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पु¥याओस् । म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।

Logo