जुवा खालबाट पक्राउ परेका ६ भीआईपी सर्वोच्च अदालतमा

जुवा खालबाट पक्राउ परेका ६ भीआईपी सर्वोच्च अदालतमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित पिपलमार्गबाट पक्राउ परेका २५ जना ‘भीआईपी’ जुवाडेमध्ये ६ जनाले सर्वोच्च अदालत गुहारेका छन् ।

पक्राउ परेका मध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार दिउँसो नै सर्वोच्च अदालतमा बन्द्री प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

तिहारको विदाका समयमा बन्दी प्रत्यक्षीकरण लगायत रिटको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा एकल इजलाश तोकिएको छ ।

प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये ६ जनाका आफन्तले आइतबार दिउँसो बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

ढकालका अनुसार बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नेमा बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा छन् ।

सर्वोच्च अदालतका न्यायाधीश भण्डारीको इजलाशले आइतबार ६ जनालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश अनुसार सोमबार दिउँसो उनीहरुलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान महाराजगञ्जको पिपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो ।

Logo