काठमाडौं,
नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६ औँ स्थापना दिवस मनाउँदैछ ।तरुण दलले आज काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजङ्ग बस्नेतले जानकारी दिनुभयो ।
वि.सं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहनुभएको थियो । त्यसपछि वि.सं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बिपी लगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो ।
यद्यपि विभिन्न नाममा युवा सङ्गठित हुँदै निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत थिए । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
वि.सं. ०५४ मा नेपालगञ्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल बस्नेत अध्यक्ष हुनुहुन्छ ।
तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि वि.सं ०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पञ्चानब्बे सदस्यीय रहने केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।





























प्रतिक्रिया