सामाजिक सुरक्षा कोष सूचीकरणका लागि एक महीना थप

सामाजिक सुरक्षा कोष सूचीकरणका लागि एक महीना थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि एक महीना समय थपिएको छ । यसअघि असोज मसान्तसम्म सूचीकरणका लागि तोकिएको थियो । तोकिएको समयावधि भित्र कोषमा सूचीकृत हुनुपर्ने रोजगारदाता तथा योगदानकर्ता ठूलो सङ्ख्यामा सूचीकरण हुन बाँकी रहेकाले सूचीकरणका लागि समय थप गरिएको विहिबार आयोजिक कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रबाट सूचीकरणका लागि केही समय थप गर्न अनुरोध भएकाले समयावधि थप गरिएको कोषले जनाएको छ । थप गरिएको समयभित्र सबैलाई सूचीकृत हुने कोषले आग्रहसमेत गरेको छ । हालसम्म कोषमा आठ हजार ८१८ प्रतिष्ठान र एक लाख ९६८ श्रमिक सूचीकृत भइसकेका छन् । कोषमा हालसम्म सात करोड ६५ लाखभन्दा बढी योगदान रकम सङ्कलन भइसकेको छ ।

सामाजिक सुरक्षा कोषबाट आर्थिक सहायता पाउन शुरु

सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता र श्रमिकले मन खुम्च्याइ रहँदा कोषमा योगदान गरेर मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गर्न थालेका छन् ।

कोषमा योगदान आरम्भ गरेका एक निजी कम्पनीमा काम गर्ने इञ्जिनीयर रुपेन्द्र थापा तथा अर्को एक कम्पनीमा काम गर्ने प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेका हुन् । उनीहरुका परिवारले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुष्ठ प्रतिव्यक्ति २५ हजार सहायता प्राप्त गरेका छन् ।

यसैगरी मासिक निवृत्तिभरण बापत थापाको आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत हुन आउने मासिक १७ हजार १०० र तामाङको परिवारले मासिक १० हजार २०० प्राप्त गरेको कोषले जनाएको छ ।

त्यस्तै निजहरुले जम्मा गरेको योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सङ्कलित रकम तथा प्रतिफलसमेत जोडी हुन आउने रकम एकमुष्ठ प्रदान गर्ने प्रक्रिया अगाडि बढेको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बताउनुभयो । उनीहरुको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

कोषप्रति आकर्षण बढाउन नयाँ योजना ल्याइँदै

योजनामा सबै श्रमिकलाई समेट्न कोषले आकर्षक योजना ल्याउन लागेको जनाएको छ । योगदान रकम लगानी गर्नेसम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । “लगानी कार्यविधि स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ”, उहाँले भन्नुभयो, “कार्यविधिमा कोषमा योगदान गर्ने योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत योगदान कर्जा (सामाजिक, शैक्षिक र घर कर्जा) पाउने व्यवस्था गरिँदैछ ।”

कोषमा जम्मा भएको योगदान रकम मुद्दति निक्षेप, विभिन्न कम्पनीको शेयरमा लगानी, बैंक तथा वित्तीय संस्थासँग मिलेर सहवित्तीयकरणमा विभिन्न क्षेत्रमा लगानी गर्न सकिने व्यवस्थासहितको लगानी नीति निर्माण गरिएको छ ।

Logo