नयाँदिल्ली ।
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । भने आइतबारसम्म सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ ।
२४ घण्टाको अवधिमा भारतमा ११ हजार ४२७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ५७ हजार ६१० पुगेको सोमबार केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको पछिल्लो विवरणअनुसार भारतमा एक करोड चार लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छन् । हाल भारतमा एक लाख ६८ हजार २३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ३७ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका जनाइएको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार १४० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ४ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८३५ को मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १९ करोड ९२ लाख ६३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । आइतबार एकै दिनमा पाँच लाख ४ हजार भन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ । रासस





























प्रतिक्रिया