काठमाडौं । दोहोरो नागरिकता लिएको आरोप खेपिरहेका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेललाई ५ वर्षसम्म कैद सजाय हुन सक्ने देखिएको छ । भारतीय नागरिक रहेको खुलासा भएसँगै उनीमाथि सरकारले छानविन थालेको हो । पूर्व गृहराज्यमन्त्री समेत रहेका वहालवाला सांसद कँडेल भारतीय नागरिक भएको खुलासा भएसँगै छानविनको दायरा आएका हुन् ।
कँडेल भारतको उत्तरप्रदेश गोरखपुरनिवासी तथा त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष भएको खुलासा भएको तथ्य बाहिर आएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।
के छ कानूनी व्यवस्था ?
कँडेलले दोहोरो नागरिकता लिएको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र नेपालमा उनको नाममा भएको सम्पति जफत हुनेछ । नागरिकता ऐन २०६३ ले दोहोरा नागरिकता लिनु गैरकानूनी मानेको छ । नागरिक ऐन–२०६३ को दफा २१ मा कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

झुठो विवरण दिई नागरिकता प्राप्त गरे बापत सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ । त्यस्तै कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
नेपालको नागरिकता ऐन २०६३ अनुसार दफा १४ मा कुनै विदेशी वा व्यक्तिले झुटो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकताबाट हटाउन आदेश दिनेछ भन्ने उल्लेख छ । कँडेलले भारतको उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका प्रमाणित भइसकेको छ । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा निर्वाचित भएका थिए ।
भारतमा समेत छानविन सुरुः
निर्वाचन भएलगतै उनले हिन्दी भाषामा शपथ खानुका साथै आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारवाही भोग्न तयार रहेको घोषणा पनि शपथमा गरेका थिए । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटेको छ ।
उनले दोहोरो नागरिकता लिएको विषयमा भारतमा समेत छानविन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय कानून अनुसार गैर भारतीय कुनै पनि संघ संस्थामा चुनाव लड्न पाउँदैन् । यस्तो अवस्थामा कँडेलको नेपाली नागरिकता भएको प्रमाण फेला परेसँगै भारत सरकारले पनि उनीमाथि अनुसन्धान थालेको हो ।
आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयारः नेता कँडेल
यता नेता कँडेलले आरोप प्रमाणित भएजस्तो सुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन्। नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कँडेलले आफुलाई फसाउने षड्यन्त्र भइरहेको भन्दै अपराध प्रमाणित भए जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका हुन् ।
‘म सानैदेखि भारतमा बसेर पढेको हो। त्यहाँ म साथीको घरमा बस्थेँ। तर मैले भारतमा कुनैपनि निर्वाचनमा भाग लिएको छैन’, कँडेलले भने। नवलपराशी (पश्चिम) २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कँडेलले आफू शान्तिका लागि लडेको तर आफूलाई भारतीय भन्दै आरोपित गरिएकोमा दुःख व्यक्त गरे ।































प्रतिक्रिया